माइग्रेन के हो, कसरी जोगिने ?
काठमाडौँ । माइग्रेन भनेको एक प्रकारको दुख्ने रोग हो । जुन समय-समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो रोगमा टाउकोमा च्वास्स-च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्दछ ।
माइग्रेन जसलाई पनि हुन सक्छ । तर प्रायः पुरुषको दाँजोमा यो रोग महिलामा बढी देखा पर्दछ । माइग्रेन बाल्यावस्था वा युवावस्थादेखि नै शुरु हुनसक्छ ।
माइग्रेनका कारणहरू :-
हालसम्म माइग्रेन किन हुन्छ, भन्ने निश्चित कारण पत्ता लागिसकिएको छैन । तर यसलाई वंशाणुगत रोगको रूपमा पनि लिने गरिन्छ । मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिक अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ । जसले रक्तनली र मस्तिष्क वरिपरिका नसाहरू सुनिन् थाल्दछ ।
अन्य कारण :-
-बढी मानसिक चिन्ता लिनाले
-चिया र कफी धेरै पिउनाले
-समयमा नसुत्नाले
-गुन्द्रुक,तामा तथा सिसीमा राखिएका पुराना अचार खानाले
-दुखाई कम गर्ने पेनकिलरको धेरै प्रयोग गर्नाले
माइग्रेनका लक्षणहरू
माइग्रेन एउटा जीर्ण र लामो समयसम्म रहने रोग हो । र यसका लक्षणहरू बिरामीपिच्छे फरक हुने गर्दछ ।
तीमध्ये प्राय
-टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ तर करिब एक तिहाइ बिरामीमा यो दुखाई टाउकोको दुवै भागमा हुनेसमेत गर्दछ ।
-टाउको कहिले एक पट्टी त कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
-यसमा टाउको टनटन दुख्ने, कहिलेकाहीँ आँखाका गेडाहरू दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखा पर्दछ ।
-वाकवाकी लाग्ने बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदीसमेत रहन नसक्ने, हात खुट्टा चिसो हुने आदि समेत हुन सक्छ ।
-टाउकोको दुखाई बल्झिनु भन्दा अघि कसै-कसैमा चिडचिडेपन आउने, निन्द्रा लागेको जस्तो हुने ।
-लगातार हाई आइरहने, थकाई लागेको जस्तो हुनेसमेत हुन्छ ।
-यस्तै टाउको दुखाई सक्किएको करिब २४ घण्टा सम्म बिरामीले थकान महसुस गर्नै, मन्द टाउको भने दुखाई भने भइरहेकै जस्तो महसुस गर्नै गर्दछ ।
माइग्रेन कसरी पत्ता लगाइन्छ
माथि दिइएको लक्षणहरूका आधारमा माइग्रेन रोग हो भनेर, अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच भने छैन । र चिकित्सकले गर्नै शारीरिक जाँचमा पनि प्रायः केही पनि खराबी नदेखिने हुन्छ ।
माइग्रेनका लागि अन्य कुनै पनि जाँचको आवश्यकता पनि खासै पर्दैन । यदि, माथि दिएका लक्षणहरू बिरामीको लक्षणहरू बिरामीको दुखाइसँग मिल्दैन भने चिकित्सकले मस्तिष्क सम्बन्धी अन्य कुनै परीक्षण गराउन सक्छन् जस्तै, एमआरआई, सिटी स्क्यान आदि ।
माइग्रेन रोकथामका उपायहरू
माइग्रेनको कुनै निश्चित उपचार नभएता पनि हामी स्वयमले तल दिएका उपायहरू अपनायौ भने यसको दुखाइबाट धेरै हदसम्म आफूलाई बचाउन सक्छौँ ।
-माइग्रेन, क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन खाने कुरा जस्तै चिया कपि चकलेट कम मात्रामा खानु राम्रो हुन्छ
-राति एउटै समयमा सुत्ने बानी बसाल्ने
-पुरानो सिसीको अचार, गुन्द्रुक, तामा जस्ता खानेकुराहरू नखाने साथै पिरो कम खाने
-राम्रा कुरा मात्र सोच्ने, चिन्तालाई मनबाट हटाउने
-घाममा धेरै नबस्ने, नहिँड्ने यदि घाममा हिँड्नु परे छाताको प्रयोग गर्नै
-दुखाई कम गर्नै औषधीहरू जस्तै पेनकिलरको प्रयोग कम गर्नै किनकि त्यस्ता खाले औषधी सेवन बढी गर्नाले टाउकोको दुखाई एकछिन कम हुन्छ तर फेरि बल्झिन्छ ।
माइग्रेन अहिलेसम्म पत्ता लगाउन सकिएको छैन माथि दिइएको उपायहरू अपनाउन सके यसको दुखाइबाट केही हदसम्म आफूलाई बचाउन सकिन्छ । साथ साथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अझै सजिलो हुन्छ ।
किनकि यसले हप्ता वा महिनामा कति पटक टाउको दुख्ने गर्दछ भन्ने थाहा पाउन सकिन्छ । र यसलाई हेरि चिकित्सकले उपचार औषधी सजिलोसँग गर्न सक्दछन् ।अन्य कारण जसले माइग्रेन दुखाई बढाउन सक्छन् । कपाल रङ्गाउनाले, कपालमा पुरानो मेथी र तेल लगाउनाले, राती समयमा नसुत्नाले,कसैलाई च्याउको सेवनले पनि दुखाई बल्झेको हुन्छ ।
(माइग्रेन रोग विशेषज्ञ डा. जालान नर्भिक अस्पताल थापाथलीमा कार्यरत छन् ।)