एमालेमा हार्डलाइनर हावी, छायामा समन्वयकारी

चितवन । चितवनमा मंगलबार सम्पन्न एमालेको १०औँ  महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ । वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ ।

यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ । एमाले-माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन्। लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन् ।

उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन् । ओली स्वयं विरोधीप्रति कठोर हुन्छन् । शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन् । एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो । अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन्। उनले लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन् ।

ओलीले विगतमा माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए । त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे । अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन् । नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो । तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए ।

एमाले-माओवादी एकीकरणपछि बनेको नेकपा कालमा महासचिव बनेका र अहिलेको महाधिवेशनमा महासचिवको स्वाभाविक दावेदार रहेका विष्णु पौडेललाई उपाध्यक्षमा थन्क्याएर पोखरेल महासचिव बने । नवौं महाधिवेशनबाट महासचिव बनेका ईश्वरलाई हटाएर ओलीले नेकपामा पौडेललाई महासचिव बनाएका थिए ।

यसबाट चिढिएका ईश्वरसहितको एउटा समूहले पौडेललाई महासचिव हुन दिएन । चितवनमा पुग्दासम्म पौडेल महासचिवको बलियो दाबेदार थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीको समेत जोडबल रहेपछि पौडेल उपाध्यक्षमा रहनुपर्ने बाध्यता आयो। मतदान हुँदाको अवस्थामा दुवै पोखरेलका लागि प्रतिकूल बन्न सक्ने बुझेपछि उनीहरूलाई जसरी पनि सर्वसम्मत बनाउन ओलीले निरन्तर कोसिस गरिरहे । पौडेल पार्टी मिलाउने र पार्टीलाई एकताबद्ध बनाउने सवालमा निरन्तर समन्वय गर्ने नेताको रूपमा परिचित छन् ।

उनी २०७४ सालमा एमाले-माओवादीको गठबन्धन र २०७५ जेठ ३ गते एमाले-माओवादी एकता गराउने सूत्रधारमध्येका हुन्। त्यसैगरी सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे,पृथ्वीसुब्बा गुरुङ पनि पार्टीभित्र समन्वयकारी नेताका रूपमा परिचित छन् । ओलीले उनीहरूलाई कार्यकारी तहमा ल्याउन चाहेनन् । वरिष्ठ उपाध्यक्षको दाबी गरेका नेम्वाङलाई उपाध्यक्षमा थान्को लगाइयो ।

बन्द सत्रको हलमा ओलीले अनुशासन उल्लंघन गर्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए । उनले आफ्नो विरोध गर्ने वा फरक विचार राख्नेप्रति अनुशासनको डन्डा देखाएर अनुदार हुने संकेत गरेका छन् । ‘अनुशासनबिनाको पार्टी बजार हुन्छ, पार्टी हुन्न’, ओलीले भनेका थिए ।

बन्द सत्रको अन्तिम दिन मंगलबार साँझ नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वरले विचार,नेतृत्व र संगठनलाई व्यवस्थित गर्दै जाने विषयमा कहीं कतै ‘कम्प्रोमाइज’ नहुने धारणा व्यक्त गरे । ‘बहुकेन्द्रित र विकेन्द्रित भएर पार्टी चल्दैन’, उनले भने, ‘हाम्रा विरुद्धमा लाग्ने जोसुकैसँग मुकाबिला गर्छौं,महाधिवेशनबाट निस्कँदा यही अठोट गर्छौं ।’ यसले पनि के संकेत गरेको छ भने पार्टीमा फरक धारणा राख्न पाइनेछैन । राख्न खोज्नेलाई अनुशासनको डन्डा लगाइनेछ ।

नवौं महाधिवेशनमा आफूले चाहेको जस्तो टिम नहुँदा काम गर्न पाइएन भन्दै आएका ओलीले बन्द सत्र समापनकै दिन स्थायी कमिटी र पोलिटब्युरो चाँडै नै चयन गर्ने बताएका छन् । नवौं महाधिवेशनपछि ओलीले निकै ढिलो गरी स्थायी कमिटी गठन गरेका थिए भने पोलिटब्युरो गठन नै भएन । अहिले बनेको ३०१ सदस्यीय केन्द्रीय कमिटी ओलीले चाहेअनुसारकै भएकाले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न कुनै कठिनाइ छैन । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *