सर्वोच्चको पूर्ण बैठक आज, १४ न्यायाधीश सहभागी नहुने !

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । उनले दिउँसो साढे १ बजे बस्ने गरी फुलकोर्ट बोलाउनका हुन् ।

आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधान न्यायाधीशले मिडियामा आएका विभिन्न शङ्का, उपशङ्का, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले बताए ।

बारसँगको सहमतिमै प्रधानन्यायाधीश सोमबार फुलकोर्ट बोलाउन तयार भएका छन् । ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बजे फुलकोर्ट बैठक बोलाउन राजी भएका छन् । फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ,’ पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शङ्का उपशङ्काबारे सम्बोधन गर्छु भन्नु भएको छ ।’

जबराले बारका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाए पनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । आइतबार बसेको उनीहरूको बैठकले फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको थियो ।

बैठकमा सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका उनीहरूको बैठक बिहान ११ बजे बस्ने भएको छ । आइतबार सम्पन्न न्यायाधीशहरूको बैठकले आज इजलास सुरु हुने समयमै बैठक बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *