उपत्यकामा सर्वसाधारणको चहलपहल बढ्यो, सार्वजनिक सवारीमा चाप

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा बडा दसैँका कारण केही दिन सुस्ताएको जनजीवन फेरि चलायमान हुन थालेको छ ।  बडा दसैँको अन्तिम दिन आज काठमाडौँ उपत्यकामा  सर्वसाधाराणकाे चहलपहल बढेको हो । विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको सङ्ख्या बढिरहेको छ ।

महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।  सडकमा देखिएका सार्वजनिक सवारीमा भने यात्रुको चाप बढेको देखिन्छ । सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालनमा नरहेकाले उपलब्ध सवारीमा यस्तो चाप देखिएको बुझिएको छ ।

सर्वसाधारणहरु निजी तथा सार्वजनिक सवारीमा आफन्तकहाँ विजयादशमीको टीका थाप्न जाने क्रम जारी छ । विजयादशमीको उत्तम साइत बिहान १० बजेर दुई मिनेटमा भए पनि आज दिनभर नै टीका लगाउने गरिन्छ ।

सर्वसाधारणहरु घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जाने गर्दछन् ।आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ ।

त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *