मन्त्रीहरूलाई नेपालको निर्देशन:

‘रक्सी नखानुस्, महिलासँग नाम नजोडियोस्’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलबाट बनेका मन्त्रीहरूलाई स्वच्छ छवि बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार (आज) आलोकनगरस्थित पार्टी कार्यालयमा मन्त्रीहरूलाई निर्देशन दिँदै नेपालले भने— ‘तपाईंहरूले स्वच्छ छवि बनाएर काम गर्नुस् । आफ्नो आचरण नबिगार्नुस् । सादा जीवन ज्यूनुस् ।’

राष्ट्र, जनता र आफू संलग्न संस्थालाई सधैँ केन्द्रमा राखेर काम गर्नसमेत नेपालले निर्देशन दिए । ‘तपाईंहरूले इमान्दारीताका साथ कर्तव्यनिष्ठ भएर काम गर्नुहुनेछ,’ नेपालको निर्देशन थियो, ‘जिनी स्वार्थलाई छाडिहाल्नुस् ।’

यस्तै नेपालले मन्त्रीहरूको नाम भ्रष्टाचार, अनियमितता तथा अनधिकृत काममा जोडिन नहुने सुझाए । भने— ‘मन्त्रीहरूको बानी पछिल्लो समय बिग्रिएको देखिन्छ सबै मन्त्रीज्यूहरूको । तपाईंहरूको त्यस्तो केही सुनिने छैन । तपाईंहरू सोच्नुहुनेछ । सोच्नुस् ।’

नेपालले मन्त्रीहरूलाई रक्सी खाने बानी भए त्यागिहाल्न आग्रहसमेत गरेका छन् । ‘सिधा कुरा हो,’ नेपालले भने, ‘यदि कसैसँग रक्सी खाने बानी छ भने त्यागिहाल्नुस् । असल आचरण सिक्नुस् । सादा जीवन बिताउनुस् । रक्सी खाने बानीले आफैँलाई समाजमा बदनाम गराउँछ । कसैलाई राम्रो गर्दैन । पहिले ४ पेक खाने गरेकोमा मन्त्री भइयो अब १० पेक खान्छु भनेर नबस्नुस् । सिधा कुरा हो । अनि महिलाहरूसँग नाम जोडिनेलगायतका विषयहरू नआउन् ।’

नेपालले यसअघि नै मन्त्रीहरूको नराम्रो कुरा सुनिएको खण्डमा मन्त्रीबाट हटाइने बताइसकेका छन् । नेपालले कमसेकम आफ्नो मन्त्रीहरूले ‘नराम्रो’ नगर्दिउन् भन्ने ठान्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *