हङकङमाथि जित निकाल्ने नेपालको लक्ष्य

काठमाडाैँ । एएफसी महिला एसियाकप छनोटका लागि उज्वेकिस्तानमा पुगेको नेपाली महिला टीमले आफ्नो दोस्रो खेलमा आज हङकङको सामना गर्दै छ । उज्वेकिस्तान स्थित माजमुएसी स्टेडियममा नेपाली समय अनुसार खेल ३:४५ मा स्पर्धा हुने छ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा फिलिपिन्स सँग अग्रताका बाबजुद अन्तिम समयमा २-१ ले पराजित भएको थियो । नेपालले यसअघि हङकङसँग २ खेल खेलेको थियो तर दुवै नतिजा हङकङको पक्षमा थियो ।

३५ वर्ष पहिला नेपाली महिला फुटबल टीमले हङकङसँग खेल्दै पहिलो अन्तर्राष्ट्रिय यात्राको सुरुवात गरेको थियो । त्यसैले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीसँग नेपाल स्वाभाविक रूपमा आत्मविश्वासका साथमा मैदानमा उत्रने प्रयासमा हुने छ ।

नेपालले १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा  एएफसी महिला एसियन कप खेलेको थियो । अहिले भने सोही प्रतियोगिताको छनोटका लागि हङकङसँग भिड्दा विगतमा भएका हार बिर्साउने प्रयासमा नेपाली चेलीहरू हुने छन् ।

त्यसो त नेपालले बलियो मानिएको फिलिपिन्सविरुद्ध साहसिक प्रदर्शन गरेकाले हङकङलाई पराजित गर्न सक्ने विश्वास गरिएको छ । नेपाली टोलीकी सबैभन्दा स्टार स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण अनुपस्थित भएको प्रतियोगितामा पनि नेपाली महिला खेलाडिले देखाएको संभावनाले महिला फुटबलमा नेपालको लगानी व्यर्थ नहुने स्पष्ट भएको छ ।

३५ वर्षअघिको पहिलो खेलमा हङकङसँग १-० ले पराजित भएको नेपाल मंगलबार भने पुरानो नतिजा आफ्नो पक्षमा पार्न प्रयासमा हुने छ। पछिल्लो पटक १९८९ मा ३-० ले हारेपछि नेपालको यो पहिलो भेट हो । त्यसअघि  १९८६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय स्पर्धामा १-० को हार भोगेको थियो ।

तर सन् २०१८ मा नेपाली विभागीय टिम एपिएफले हङकङको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गरेको थियो जतिबेला एफिएफले ३–१ को जित निकालेको थियो । त्यसैले यो पटक नेपाल हङकङलाई कडा चुनौती दिन सक्षम छ ।

एएफसिको महत्वपुर्ण प्रतियोगितामा लगातार तीन पटक प्रतिस्पर्धा गरेकाले नेपाल फेरि एकपटक आफूलाई सोही स्थानमा पुर्‍याउन प्रयास रत रहेको छ । छनोट प्रतियोगिताको तयारीस्वरुप नेपालले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

त्यसो नेपाली टीममा यो पटक प्रशिक्षक ग्यारी फिलिप्सले सात नयाँ अनुहारलाई मौका दिएका छन् । जसमा प्रीति राई र सविता रानाले ‘डेब्यु’ खेलमै गोल गर्दै आफूलाई उदाउँदो स्टारका रूपमा राखिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *