विराटले बैंगलोरको कप्तानबाट पनि राजीनामा दिने

काठमाडौँ । भारतीय कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) टीम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानबाट पनि राजीनामा दिने भएका छन् ।

उनले आगामी सिजनबाट बैंगलोरको कप्तानी छाड्ने बताएका हुन् । विराटले यसअघि भारतीय टी-२० टीमको कप्तानबाट समेत राजीनामा दिने घोषणा गरेका थिए ।

विराटले टी-२० विश्वकपपछि भारतको कप्तानी छाड्नेछन् भने जारी आईपीएल उनको कप्तानीमा आरसीबीले खेल्ने अन्तिम प्रतियोगिता हुनेछ । यद्यपि उनी खेलाडीको रुपमा भने टीममा रहनेछन् । विराटले आफूले ‘ब्याटिङमा ध्यान दिन’ राजीनामा गर्ने निर्णयमा पुगेको बताएका छन् । उनको पछिल्लो दुई वर्षमा ब्याटिङ फर्म कमजोर भएको छ । उनी लामो समयदेखि अन्तरराष्ट्रिय शतकविहीन छन् ।

विराटले २०१३ देखि बैंगलोरको कप्तानी सम्हालेका थिए । तर यी ८ वर्षमा बैंगलोरले एउटा पनि उपाधि जितेका छैन । विराटले आईपीएलमा अहिलेसम्म १३२ खेलमा टीमको कप्तानी गरेका छन् । जहाँ ६० खेलमा बैंगलोरले जित निकाल्दा ६५ खेलमा पराजित भएको छ । ३ खेल बराबरी हुँदा ४ खेल नतिजाविहीन भएको छ ।

विराटले आरसीबीका लागि अहिलेसम्म १९९ खेलमा ६०७६ रन बनाएका छन् । उनले आईपीएलमा ५ शतक प्रहार गरेका छन् ।

यो पनि : सात वर्षपछि भारतीय क्रिकेट टिममा फरक फरक कप्तान हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *