एमालेको नाराबाजीलाई बेवास्ता गर्दै अघि बढ्यो संसद

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीलाई बेवास्ता गर्दै प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयकसँग सम्बन्धित विधेयकहरूमाथि छलफल र पारित गर्नेमा केन्द्रित भएको छ ।

एमालेको नाराबाजीका बीच सोमबार विनियोजन विधेयक बहुमतले पारित भएको छ । र बाँकी बजेट आश्रित विधेयकहरू प्रतिनिधिसभामा पेश भएका छन् ।

एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

यसैगरी, अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । अब ७२ घण्टाभित्र आर्थिक विधेयक २०७८ माथि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाले यहि असोज ७ गते यो विधेयकको दफावार छलफलका लागि समय तोकेका छन् । यस्तै, सोमबार नै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रतिनिधिसभामा शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

यो विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए । छलफलका क्रममा सांसद सुवालले सरकारले कति ऋण लिने ? कसले कति-कति ऋण लिएर हिनामिना गरे भन्ने विषय छानबिन गरेर तिनलाई कारबाही हुनुपर्ने बताए । जलस्रोतको धनी दे‍शले भारतसँग बिजुली कति किन्ने ? भन्ने प्रश्न गर्दै उनले बिजुली आयातमा समेत नेपालले व्यापार घाटा व्यहोर्दै आएको बताए ।

ठूला ठूला उद्योगलाई सहुलियत दिने, समयमै विद्युत् महशुल नतिर्ने ठूला कम्पनीलाई कारबाही नहुने‚ तर सर्वसाधारण जनताले भने एक दुई महिना नतिर्दा नै बिजुली काटिने गरेको भन्दै विरोध गरे । विदेशी ऋण लिन नहुने, एमसीसीको पैसा लिनै नहुने उनको भनाइ छ । ‘अमेरिकाको दलाल किन बन्ने हामी ?’ उनको प्रश्न छ ।

जवाफमा अर्थमन्त्री शर्माले आफूले ३७ अर्ब ऋण घटाउने योजना प्रस्तुत गरेको जवाफ दिए । पूँजी निर्माणका लागि ऋण आवश्यक भएको‚ तर घटाउँदै जाने योजना रहेको अर्थमन्त्री शर्माले बताए । जलविद्युत्‌लगायतका क्षेत्रलाई प्राथमिकता दिएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *