सात वर्षपछि भारतीय क्रिकेट टिममा फरक फरक कप्तान हुँदै

काठमाडौँ । भारतीय टीमका कप्तान विराट कोहलीले टी-२० विश्वकप पछी टी-२० फर्म्याटको कप्तानी छाड्ने भएका छन् । कोहलीले आफूलाई ‘कामको प्रेसर बढी भएका कारण’ कप्तान छाड्ने घोषणा गरेका हुन् ।

उनले लिमिटेड ओभरबाट कप्तानी छाड्ने चर्चा यसअघि नै भएपनि कहिले छाड्ने भन्ने यकिन थिएन । यद्यपि छनोटकर्ता किरण मोरले इंग्ल्यान्ड भ्रमणपछि उनले टी-२० को कप्तान छोड्न सक्ने र त्यसको जिम्मा रोहित शर्माले पाउन सक्ने बताएका थिए ।

तीन दिन अघि सञ्चार माध्यममा विराटले टी-२० टीमको कप्तान छोड्ने खबर आएको थियो । बीसीसीआईले समाचारको खण्डन गरेको थियो । तर विराटले बिहीबार टी-२० को कप्तानी छोड्ने घोषणा ट्विटरमार्फत गरे ।

बिराटले काम बढी भएका कारण कप्तानी छोड्ने निर्णयमा पुगेको बताएका छन् । उनले भनेका छन् ‘म पछिल्लो ८-९ वर्षयता तीनै फर्म्याटमा खेलिरहेको छु साथै ५-६ वर्षयता लगातार कप्तानको भूमिकामा छु । मैले टेस्ट तथा एक दिवसीय कप्तानीको तयारीका लागि अझ बढी समय चाहिने महसुस गरेको छु । मैले टी-२० कप्तानका रूपमा सक्दो प्रयास गरेको छु । आगामी दिनमा पनि एक ब्याट्सम्यानका रूपमा सक्दो योगदान दिनेछु।’

त्यसो त कोहलीले सीमित ओभरमा कुनै ठुलो उपाधि टिमलाई दिलाउन सकेका छैनन् । अर्कोतर्फ रोहित शर्माले कप्तानी गरेर आइपीएलमा मुम्बई इन्डियन्सले राम्रो नतिजा निकालिरहेको छ । उनले राष्ट्रिय टिमको उपकप्तानका रूपमा पनि राम्रो गरिरहेका छन् ।  मुम्बईलाई पाँच पटक आईपिएल च्याम्पियन बनाएसँगै विज्ञहरूले शर्मालाई सीमित ओभरको कप्तान बनाउनुपर्ने आवाज उठाएका थिए ।

अलग फर्म्याटका अलग कप्तान
भारतमा अलग फर्म्याटका अलग कप्तान बनाउने चलन २००७ को टी-२० विश्वकपबाट सुरु भएको हो । जतिबेला राहुल द्रविड लगायत सिनियर खेलाडीलाई पछि पार्दै महेन्द्रसिंह धोनीलाई कप्तानको जिम्मेवारी दिइएको थियो । धोनीले आफ्नो कप्तानीमा विश्वकप जिताए । त्यसपछि धोनीलाई एक दिवसीय कप्तानको समेत जिम्मेवारी दिइयो । त्यहि समयमा धोनीलाई टेस्टको पनि कप्तान बनाउने आङ्कलन गरिएको थियो। तर त्यस्तो भएन ।

बीसीसीआईले राहुल द्रविडको स्थानमा अनिल कुम्ब्लेलाई टेस्ट कप्तान बनायो । कुम्ब्लेले १० टेस्टमा कप्तानी गरे । यद्यपि त्यो समयमा कुम्ब्ले केवल टेस्टमात्र खेल्थे । धोनी भने तीनै फर्म्याट खेल्थे । उनी टेस्टमा उपकप्तानका रूपमा रहे । कुम्ब्लेको सन्यासपछि धोनी २००८ मा तीनै फर्म्याटको कप्तान भए । फेरि २०१४ मा धोनीले कप्तानी छोड्दै टेस्टबाट सन्यास घोषणा गरे । कोहली टेस्ट टीमको कप्तान भए । एक दिवसीय र टी-२० कप्तान धोनी नै रहे । २०१७ मा धोनीले एक दिवसीय र टी-२० को पनि कप्तानी छाडे र खेलाडीका रूपमा मात्र रहे । त्यसपछि विराट सबै फर्म्याटको कप्तान बनेका हुन् ।

भारतीय टिममा ७ वर्षपछि पुन: अलग-अलग फर्म्याटमा अलग कप्तान हुने भएका छन् । यसपटक टेस्ट र एक दिवसीयमा बिराट तथा टी-२० मा अर्को कप्तान (सम्भवतः रोहित शर्मा) हुनेछन् । टी-२० को कप्तान बादेदारीमा रोहित शर्मा सर्वाधिक अघि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बैंगलोरको कप्तानबाट पनि राजीनामा दिने
कोहलीले इन्डियन प्रिमियर लिग (आईपिएल) टीम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट पनि राजीनामा दिने जनाएका छन् । उनले आगामी शिजनबाट  बैंगलोरको कप्तानी छोड्ने बताए हुन् ।

विराटले यसअघि भारतीय टी-२० टीमको कप्तानबाट समेत राजीनामा दिने घोषणा गरेका थिए । विराटले टी-२० विश्वकप पछि भारतको कप्तानी छोड्ने छन् भने जारी आईपिएल उनको कप्तानीमा आरसिबीले खेल्ने अन्तिम प्रतियोगिता हुने छ । यद्धपि उनी एक ब्याटस्म्यानको रुपमा भने टीममा रहने छन् । विराटले आफू ब्याटीङमा ध्यान दिनका लागि राजीनामा दिएको बताएका छन् । उनको पछिल्लो दुई वर्षमा ब्याटिङ फर्म कमजोर भएको छ। उनी लामो समय देखी अन्तर्राष्ट्रिय सतक विहीन छन् ।

विराटले २०१३ देखी रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी समालेका थिए । तर उनले कप्तानी समालेको ८ वर्षमा बैंगलोरले एउटापिन उपाधि जितेका छैनन्। उनले टीम फाइनलमा पुर्‍याएका छन् । विराटले आईपिएलमा अहिलेसम्म १३२ खेलमा टीमको कप्तानी गरेका छन् । जहाँ ६० खेलमा बैंगलोरले जित निकाल्दा ६५ खेलमा पराजित भएको छ । ३ खेल बराबरी हुँदा ४ खेल नतिजा विहीन भएको छ ।

विराटले आरसिबीका लागि अहिलेसम्म १९९ खेलमा ६०७६ रन बनाएका छन् । कप्तानका रुपमा उनले १३२ खेलमा ४३.२७ को औषतमा ४६७४ रन बनाएका छन् । कप्तानको रुपमा उनको स्ट्राइक रेट १३४.११ रहेको छ। उनले आईपिएलमा ५ शतक प्रहार गरेका छन् । उनले सबै शतक कप्तान हुँदा नै प्रहार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *