ओमानमाथि नेपालको कीर्तिमानी जित (तस्बिरहरू)

काठमाडौँ ।  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले हराएको हो ।
१२२ रनको लक्ष्य नेपालले १९ औँ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ५२ रन बनाए । आशिफ शेखले ४० रनको योगदान गरे ।

नेपालले एकदिवसीय क्रिकेटमा ओमानलाई हराएको यो पहिलो पटक हो । यहि श्रृंखलाको यसअघिको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।

कुशल मल्ल  र रोहित पौडेल छ छ रनमा आउट भए  । टिमको स्कोर १६ रन हुँदा कुशल आउट भएपनि ओपनर आसिफ र कप्तान ज्ञानेन्द्रले  दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै जीतको आधार तयार पारे ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै ओमानलाई १२१ रनमा अलआउट गराएको थियो । नेपालका करण केशी र सन्दीप लामिछानेले चार चार तथा शरद भेषावकरले दुई विकेट लिएपछि ओमान ३८ औँ ओभरमै अलआउट भयो ।

ओपनिङ् बलर करणले शुरुदेखि नै विकेट लिन थालेपछि ओमान दबाबमा परेको थियो ।

करणले ८ ओभर बलिङ गर्दै २५ रन दिए । यस्तै ८ ‌ओभर १ बल बलिङ गरेका सन्दीपले १९ रन मात्र खर्चिए । शरदले ६ ओभरमा १९ रन दिए ।

१८ रन बनाउँदा पहिलो विकेट गुमाएको ओमानले ३० रन हुँदा दोस्रो र तेस्रो विकेट गुमाएको थियो । त्यस्तै ३७, ४३, ६४, ८६, १०६ र १२१ रनमा विकेट गुमाएको थियो । ओमानका सात खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओमानका कप्तान जिसन मक्सूदले बनाएको ४१ रन सर्बाधिक रह्यो ।

प्रतियोगिताका चारमध्ये नेपालले दुई खेल जितेको हो । आजको खेल प्रशिक्षक डेभ ह्वाटमोरको अन्तिम खेल समेत हो ।

ज्ञानेन्द्रको चौथो अर्धशतक

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ओमानसँगको खेलमा अर्धशतक बनाए । उनी ५२ रनमा नटआउट रहे ।

ज्ञानेन्द्रले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । यो उनको एकदिवसीय अन्तराष्ट्रियमा चौथो अर्धशतक हो । उनी एकदिवसीयमा चार अर्धशतक प्रहार  गर्ने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *