इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेपनि इन्द्रजात्राका कारण बसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौँ उपत्यकाका भित्री सहरमा चहलपहल बाक्लो छ ।

गतवर्ष कोरोना जोखिमका कारण इन्द्रजात्रा स्थगित गरिएको थियो । यस वर्ष शनिबार बिहान ६:५१ को साइतमा इन्द्रध्वजोत्थान गरेसँगै महाकालीलगायत विभिन्न नाच प्रदर्शन भइरहेको छ । भक्तपुरबाट आएका विभिन्न नाचका कारण पनि भीडभाड बढेको छ । स्वास्थ्य मापदण्ड कायम गरेर जात्रा सम्पन्न गर्ने भनिए पनि त्यो सम्भव भएको छैन ।

जात्राका अवसरमा शनिबारदेखि नै घण्टाकिसी, ख्याक, कवचा, घिन्ताङ किसी, नवदुर्गा, रामचन्द्र, पुलुकिसी, देप्याख, सवाभक्कु, लाखे, दशअवतारलगायत नाचले हनुमानढोका दरबार क्षेत्रको माहोल जात्रामय बनेको छ । गत वर्ष जात्रामा सहभागी हुन नपाएका युवा युवती रमाइलोका साथ उपस्थित भएका छन् । धेरैको मुखमा मास्क भए पनि दूरी कायम भएको छैन ।

असनबाट जात्रामा सहभागी हुन आउनुभएका युवा रवीन्द्रलाल खोखाली स्वास्थ्य मापदण्ड पूरा हुनसक्ने अवस्था नभएको स्वीकार्छन् । अधिकांश सहभागीले कोरोनाको खोप लगाइसकेकाले समस्या नहुने उनको विश्वास छ । इन्द्रध्वजोत्थान गरेसँगै शनिबार बेलुकी महानगरका भित्री सहरवासीले एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा उपाकु गरेका छन् ।

धूप, बत्ती बालेर तोकिएको मार्ग घुमेर ठाउँ ठाउँमा बत्ती बाल्ने कर्मलाई उपाकु भनिने ठहिँटीका जयराम महर्जनले बताए । घरबाट निस्केर उपाकु कर्म गर्ने मार्ग हुँदै वसन्तपुर दरबार क्षेत्र जाने गरिन्छ ।

जात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । जात्राका क्रममा तीनै रथलाई आज तल्लो टोल र भोलि माथिल्लो टोल घुमाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार बिहान स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *