आईपिएलको दोस्रो चरण आजदेखि, हुने छैनन् यी खेलाडी

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको १४ औं संस्करणको दोस्रो फेज आजबाट युएईमा सुरु हुँदैछ । प्रतियोगिता भारतमा कोरोना महामारी बढेपछि गत मे मा बिचमै स्थगित गर्नुपरेको थियो । बाँकी रहेका खेल अब युएईमा हुन लागेको हो ।

रोमाञ्चक पहिलो चरणमा आईपीएल घरेलु मैदानमा हेर्न लायक थियो । जहाँ शिखर धवन, केएल राहुल, क्रिश मोरिसलगायत खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

युएईमा हुने प्रतियोगिताका बाँकी खेलमा पनि उही चमक र लयको अपेक्षा समर्थकले गरेका छन् । दोस्रो चरणमा यद्यपि जोस बटलर, प्याट कमिन्स, जोनी ब्रेस्टो लगायत स्टार खेलाडीको कमी अवश्य हुने छ । यद्यपि उनीहरूका ठाउँमा क्लबहरूले केही नयाँ खेलाडी भित्र्याएका छन् । त्यसैले प्रतियोगिताको यो फेज युवा खेलाडीलाई उदाउने अवसरका रूपमा समेत रहने छ ।

  • दोस्रो फेजमा नदेखिने खेलाडीहरू

एडम जाम्पा (रोयल च्यालेन्स बेंग्लोर): अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले अप्रिल महिनामै कोभिड-१९ को दोस्रो लहरकाबीच आईपिएल २०२१ बाट आफ्नो नाम फिर्ता लिएका थिए । आईपिएलको यो सिजनमा जाम्पाले कुनै पनि खेल खेलेनन् । अब आरसीबीले युएईमा हुने स्पर्धाका लगि जाम्पाको स्थानमा श्रीलङ्काका वानिंदु हसारङ्गालाई सहभागी गराएको छ । विश्व नम्बर दुई हसारंगाले भारत विरुद्ध केही समय अघि भएको टी-२० सिरीजमा ७ विकेट लिएका थिए ।

डेनियल सिम्स (रोयल च्यालेन्स बेंग्लोर): अस्ट्रेलियाका डेनियल सिम्सले मानसिक स्वास्थ्यको कारण देखाउँदै आईपिएलको दोस्रो चरणबाट नाम फिर्ता लिएका छन् । यी अलराउन्डरले आईपिएल-२०२१ को पहिलो चरणको लिगमा २ खेल खेलेका थिए। आरसीबीले सिम्सको स्थानमा श्रीलङ्काका तीव्र गतिका बलर दुष्मन्ता चामीरालाई टिममा सहभागी गराएको छ। चामीराले श्रीलङ्काका लागि ३१ खेलमा ३१ विकेट लिएका छन्।

केन रिचर्डसन(रोयल च्यालेन्स बेंग्लोर): अस्ट्रेलियाकै केन रिचर्डसनले पनि दोस्रो चरणको खेलबाट नाम फिर्ता लिए । रिचर्डसनले अस्ट्रेलियाले केही समय अघि गरेको वेस्टइन्डिज र बंगलादेशसँगको सिरिजमा पनि उनले टिममा सहभागी नहुने जनाएका थिए । इंग्लिस बलर जर्ज गार्टनले केन रिचर्डसनको स्थानमा आरसीबीमा स्थान बनाएका छन् । यद्यपि गार्टनको अन्तर्राष्ट्रिय अनुभव छैन ।

फिन एलेन (रोयल च्यालेन्स बेंग्लोर): न्युजिल्यान्डका युवा बलर फिन एलेनले पनि आईपिएलको दोस्रो चरणबाट नाम फिर्ता लिएका छन् । उनलाई यसअघि आरसीबीले जोस फिलिपको स्थानमा टिममा सहभागी गराएको थियो । अब आरसीबीले टीम डेभिडलाई टिममा सहभागी गराउने छ । सिंगापुरका यी खेलाडीले १४ टी-२० अन्तर्राष्ट्रिय खेलमा ५५८ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५८.५२ रहेको छ । उनको एभरेज ४६.५० रहेको छ ।

वासिंगटन सुन्दर (रोयल च्यालेन्स बेंग्लोर): भारतीय अलराउन्डर वासिंगटन सुन्दरले पनि आईपीएलको दोस्रो चरण गुमाउने छन् । उनले औँलाको चोटका कारण प्रतियोगिता गुमाउन लागेका हुन् । २१ वर्षीय सुन्दरले पहिलो चरणमा आरसीबीका लागि ६ खेल खेलेका थिए । जहाँ उनले ३९.३३ को औसतमा तीन विकेट लिएका थिए । आरसीबीले सुन्दरको स्थानमा बंगलादेशका बलर आकाश दीपलाई टिममा अनुबन्ध गरेको छ।

जोफ्रा आर्चर (राजस्थान रोयल्स): जोफ्रा आर्चरले कुहिनोको चोटका कारण आईपीएलको दोस्रो चरण गुमाउने पक्का भएको छ । साथै आर्चरले इंग्ल्यान्डका लागि आगामी टी-२० विश्वकप समेत गुमाउने छन् ।  राजस्थान रोयल्सले आर्चको स्थानमा न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान ग्लेन फिलिप्सलाई टिममा ल्याएको छ। फिलिप्सले २५ टी-२० अन्तर्राष्ट्रियमा ५०६  रन बनाएका छन् । यस क्रममा उनले एक शतक र दुई अर्ध शतक प्रहार गरे । उनको स्ट्राइक रेट १४९.७० छ ।

एन्ड्रयू टाई (राजस्थान रोयल्स): राजस्थानका अर्का तीव्र गतिका बलर एन्ड्रयू  टाईले पनि परिवारसँग समय बिताउने भन्दै आईपिएलबाट बाहिरिने निर्णय गरे । राजस्थानले टाईको स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज सम्सीलाई टिममा सामेल गरेको छ । विश्व नम्बर एक सम्सीले आईपिएलमा अहिलेसम्म चार खेलमा तीन विकेट लिएका छन् ।

जोस बटलर (राजस्थान रोयल्स): विकेटकिपर ब्याट्सम्यान जोस बटलरले परिवारसँग समय बिताउने भन्दै दोस्रो चरणको आईपीएलमा सहभागी नहुने बताएका छन् । राजस्थानले बटलरको स्थानमा क्यारेबियन ओपनर एविन लुईसलाई टिममा सहभागी गराएको छ । लुईसले बुधबार समाप्त भएको क्यारेबियन प्रिमियर लिगमा शानदार प्रदर्शन गरेका थिए । उनले ११ खेलमा ४७.३३ को औसतमा ४२६ रन बनाए । जसमा उनले एक शतक र तीन अर्ध शतक प्रहार गरेका थिए ।

बेन स्टोक्स (राजस्थान रोयल्स): इंग्ल्यान्डका यी स्टार अलराउन्डरले मानसिक स्वास्थ्यको कारण देखाउँदै क्रिकेटबाट अनिश्चित कालका लागि विदा लिएका छन् । उनी टी-२० विश्वकपका साथै आईपीएलको दोस्रो चरणमा समेत मैदानमा हुने छैनन् । उनको स्थानमा राजस्थानले वेस्टइन्डिजका तीव्र बलर ओसेन थोमसनलाई टिममा सहभागी गराएको छ ।

रिले मेरेडिथ(पञ्जाब किंग्स): तीब्र बलर रिले मेरेडिथले पनि आईपीएलको दोस्रो चरणबाट नाम फिर्ता लिएका छन् । मेरेडिथले पहिलो चरणमा पञ्जाबका लागि पाँच खेलमा ४ विकेट लिएका थिए । पञ्जाब किंग्सले अस्ट्रेलियाका तीव्र बलर नाथन एलिसलाई मेरेडिथको स्थानमा राख्ने निर्णय गरेको छ । एलिसले केही समय अघि बंगलादेश विरुद्धको टी-२० अन्तराष्ट्रियको डेब्यु खेलमै ह्याट्रिक लिएका थिए ।

जे रिचर्डसन(पञ्जाब किंग्स):  पञ्जाब किंग्सले अस्ट्रेलियाका पेसर जे रिचर्डसनलाई १४ करोडमा खरीद गरेको थियो । रिचर्डसनलाई पहिलो चरणमा तीन खेल खेल्ने अवसर पाएका थिए । जसमा उनले तीन विकेट लिए । पञ्जावले अव रिचर्डसनको स्थानमा इंग्ल्यान्डका लेग स्पिनर आदिल राशिदलाई टिममा सहभागी गराएको छ । विश्व नम्बर ४ राशिदले अहिलेसम्म ६२ टी-२० अन्तर्राष्ट्रियमा २४.२९ को औसतमा ६५ विकेट लिन सफल भएका छन् ।

डेभिड मलान (पञ्जाब किंग्स): विश्वका नम्बर एक टी-२० ब्याट्सम्यान डेभिड मलानले ब्यस्त कार्यतालिकाको कारण देखाउँदै दोस्रो चरण नखेल्ने निर्णय गरेका छन् । १७ अक्टोबरदेखी टी-२० विश्वकपमा भाग लिनुपर्ने तथा त्यसलगत्तै इंग्ल्यान्डले अस्ट्रेलियासँगको एसेज सिरीज खेल्नुपर्ने भएकाले उनले आईपीएल नखेल्ने निर्णय गरेका हुन् । उनले पहिलो चरणमा एक खेल खेलेका उनले २६ रन बनाएका थिए । उनको स्थानमा पञ्जावले दक्षिण अफ्रिकाका ब्याट्सम्यान एडम मार्करमलाई अनुबन्ध गरेको छ ।

प्याट कमिन्स (कोलकाता नाइट राइडर्स): अस्ट्रेलियाका तीव्र बलर प्याट कमिन्स पनि दोस्रो चरणको आईपीएलमा हुने छैनन् । उनको अभाव कोलकाताका लागि मँहगो हुन सक्छ । आईपीएल २०२० को लिलामीमा कोलकाताले उनलाई १५.५ करोड रुपैंयामा अनुबन्ध गरेको छ । आईपीएल २०२१ को पहिलो चरणमा कमिन्सले सात खेलबाट ९ विकेट तथा ९३ रन बनाएका थिए । अब कमिन्सको स्थानमा किबी बलर टिम साउथिलाई टिममा सहभागी गराइएको छ ।

जोनी ब्यारिस्टो (सनराइजर्स हैदराबाद): इंग्लिस ब्याट्सम्यान जोनी ब्यारिस्टोले ब्यस्त कार्यतालिकाको कारण देखाउँदै दोस्रो चरणबाट नाम फिर्ता लिए । उनले पहिलो चरणमा सनराइजर्स हैदराबादका लागि सात खेलबाट १४१.७१ को स्ट्राइक रेटमा २४८ रन बनाएका थिए । सनराइजर्सले अब ब्यारिस्टोको स्थानमा वेस्ट इन्डिजको आक्रामक ब्याट्स्म्यान शेरफेन रदरफोर्डलाई टिममा सहभागी गराएको छ ।

क्रिस बोक्स (दिल्लि क्यापिटल्स): इंग्ल्यान्डका अलराउन्डरले आगामी टी-२० विश्वकप र एसेज सिरीजलाई ध्यानमा राख्दै आईपीएल नखेल्ने निर्णय गरे । क्रिस बोक्सले आईपीएल २०२१ को पहिलो चरणमा तीन खेलमा पाँच विकेट लिएका थिए । दिल्ली क्यापिटल्सले वोक्सको स्थानमा अस्ट्रेलियाका तीव्र बलर बेन ड्वारसुइसलाई टिममा सामेल गराएका छन् । ड्वारसुइसले ८२ टी-२० मा २३.७३ को औसतमा १०० विकेट लिएका छन् । यद्यपि उनीसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भने छैन ।

मनिमारन सिद्धार्थ (दिल्ली क्यापिटल्स): दिल्ली क्यापिटल्सका बाँया हाते स्पिनर मनिमारन सिद्धार्थ चोटका कारण आईपीएल गुमाएका छन् । २३ वर्षीय सिद्धार्थ दुबईमा अभ्यास सत्रका क्रममा चोटील भएका थिए । दिल्ली क्यापिटल्सले बायाँ हाते तीव्र बलर कुलवन्त खेजरोलियालाई सिद्धार्थको स्थानमा टिममा सहभागी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *