महिला एसिया कप : २३ वर्षपछि फिलिपिन्सलाई हराउने अवसर

काठमाडौँ ।दक्षिण एसियाली स्तरमा नेपाली महिला फुटबल टीमको परिचय छ संधै दाबेदार तर उपाधि जित्न असफल । भारतको तगारो तोड्न नसक्दा नेपाल उपविजेतामै बाध्य हुन परिरहेको छ दक्षिण एशियाली धेरै प्रतियोगितामा ।

नेपाली महिला टीमले लामो समयपछि दक्षिण एसिया बाहिरको महत्वपूर्ण प्रतियोगिताका लागि छनौट खेल्दैछ । त्यसैले महिला एसिया कप नेपालका लागि कठिन तर आफूलाई बलियो देखाउने मौकाका रुपमा रहनेछ ।

नेपाली महिला फुटबल उतरचढावपूर्ण प्रदर्शन बाट गुज्रिएको छ । सन् १९९९ मा एसियन कप खेलेपछि नेपाली महिला फुटबल टिम लामो समय अन्तर्राष्ट्रिय मैदानमा देखिएन । सन् २०१० को ११औं दक्षिण एसियाली खेलकुद (साग) पछि दक्षिण एसियामा नेपाली महिला फुटबल पुनःजागृत भयो । परिणामतः अहिले महिला फुटबल नेपालमा लोभलाग्दो विकास भइरहेको खेलकुदको विधामध्येमा परेको छ ।

तर अन्तर्राष्ट्रिय सहभागिता सीमित हुँदा अझैपनि आफूलाई प्रमाणित गर्ने मौका भने खासै बढेको छैन । यस्तो सन्दर्भमा नेपाल आज फिलिपिन्ससँग खेल्दैछ ।

फिलिपिन्सलाई रोक्ने चुनौती

एएफसी महिला एसियाकप छनौटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्टमा नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरू हुनेछ । छनौटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्स र हङकङ छन् ।

छनोटका तीन खेलपछि अंक तालिकाको शीर्ष स्थानमा रहेको टिमले एसिया कपमा स्थान बनाउने छ । बंगलादेशसँगका दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि उज्वेकिस्तान पुगेको नेपाल सक्दो राम्रो प्रदर्शनको प्रतिक्षामा छ ।

नेपाली टीमका प्रशिक्षक ग्यारि फिलिप्सले यो नेपालका लागि ठूलो अवसर भएको बताएका छन् । उनले नेपाली खेलाडीले आफ्नो खेल र क्षमता देखाउने राम्रो अवसरको सदुपयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

नेपाली टीमले बंगलादेशसँगको खेलमा क्षमताअनुसार प्रदर्शन नगरेको फिलिप्सले बताएका थिए । मैत्रीपूर्ण खेलको पहिलो खेल २–० ले जितेको नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो । फिलिप्सले एसियाकप छनौटमा सुधारिएको प्रदर्शन हुने विश्वास व्यक्त गरेका छन् । त्यसैले आजको खेल नेपाली महिला फुटबलकै लागि महत्वपूर्ण रहने छ ।

फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले कोभिड संक्रमणको महामारीका कारण टिम निर्माणमा धेरै समस्या भोग्नुपरेको बताएका छन् । उनले भने, ‘हाम्रा अधिकांश खेलाडी व्यावसायिक फुटबल खेल्ने क्रममा विदेशमा छन् र अहिले उपलब्ध हुन सकेका छैनन् । टिम अहिले युवा खेलाडी बाहुल छ । हामी राम्रो प्रदर्शनको आश गरिरहेका छौँ ।’

नेपालले फिलिपिन्ससँग यसअघि सन् १९९९ मा एएफसी महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । जतिबेला नेपाल फिलिपिन्ससँग ५–० ले पराजित भएको थियो । २२ वर्षपछि नेपाली टीम पुरानो प्रतिद्वन्द्विसँग उत्रँदा नतिजा सुधार्नुपर्ने छ । आजको खेल नेपालका लागि २३ बर्ष अघिको हारको बदला लिने मौकाका रुपमा पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *