स्वस्थ जीवनका लागि उपयोगी पोषण स्वास्थ्यका टिप्सहरू

बालबालिकाका लागि चिनी र गुलियो पेय अति हानिकारक

स्वास्थ्य र पोषणको विषयमा धेरै जना दोधारमा पर्ने गरेका छन् । योग्यता हासिल गरेका विज्ञहरूले समेत पोषण सम्बन्धी गलत धारणा बोकेर हिँडेको पाइन्छ । यसले झन् हामी आफ्नो स्वास्थ्यप्रति सतर्क रहन अप्ठेरो बनाइदिन्छ । विभिन्न खोजलाई आधार मानेर तयार पारिएका स्वास्थ्य र पोषण सम्बन्धी केही टिप्स यस्ता छन् :-

चिनीजन्य पेय पदार्थमा नियन्त्रण 
चिनीजन्य पदार्थ जस्तै सोडा, जुस, चिनी राखिएको चियालाई ‘प्राइमरी अमेरिकी डाइट’ का रूपमा लिइन्छ । तर, विभिन्न अनुसन्धानले पत्ता लगाएअनुसार चिनी र गुलियो पेय पदार्थले मुटु सम्बन्धी रोग, मधुमेह लाग्नुका साथै शरीरमा बोसो जम्न मद्दत गर्ने गरेको पुष्टि भएको छ । गुलियो र चिनीजन्य पेय बालबालिकाको लागि झन् धेरै घातक हुने गरेको खोजले देखाएको छ । यसले बच्चामा मोटोपना, उच्च रक्तचाप, कलेजोको समस्या निम्त्याउँछ । यसको साटो पानी, चिनी नराखिएको चिया, कफी पिउन सकिन्छ ।

नट्स र बियाँहरू खाने 
केही व्यक्ति आफू मोटो भएको कारण बदाम, आलमोण्ड, काजु, ओखर लगायतका ‘नट्स’ खाँदैनन् । तर ‘नट्स’ पोषणको भण्डार हो । यी नट्समा प्रोटिन, फाइबर, खनिज र विभिन्न किसिमका भिटामिनहरू प्रशस्त पाइन्छ ।  ‘नट्स’  र बियाँ खानाले मोटोपना कम हुनुका साथै मधुमेह र मुटुसम्बन्धी रोगहरूबाट बच्न सकिन्छ । एक अध्ययनले ‘नट्स’ र बियाँहरू नखाँदा मुटुसम्बन्धी रोग र मधुमेह लाग्ने सम्भावना बढी हुने तथा हृदयाघातबाट मृत्यु हुने सम्भावना पनि उच्च हुने समेत देखाएको छ ।

प्रशोधित खाना नखाने
धेरै प्रशोधन गरिएको खानामा मौलिक गुण नै परिवर्तन गरिएका मसलाहरू प्रयोग गरिएको हुन्छ । यस्ता खानामा प्रशोधित चिनी, अधिक प्रशोधित तेल, नुन, कृत्रिम गुलियो, रङ्ग र फ्लेवर राखिएको हुन्छ । जस्तैः स्न्याक्स केक, फास्ट फुड, फ्रोजन खाना, क्यानमा राखिएको खाना, चिप्स आदी । यस्तो खानाले विभिन्न दीर्घकालीन रोग निम्त्याउँछ । प्रशोधित खाना स्वादिष्ट हुने भएकाले धेरै सजिलै खान सकिन्छ । यस्ता खानाले मस्तिष्कमा समेत असर पुर्‍याउनुका साथै धेरै क्यालोरी जम्मा भई मोटोपनाको समस्या निम्त्याउने काम गर्छ । खोजहरूले मधुमेह, मुटुरोगको मुख्य कारण प्रशोधित खाना भएको देखाएका छन् । यस्ता खानामा प्रयोग गरिएको कम गुणस्तरका मसला, चिल्लो पदार्थ, चिनी, खाद्यान्नमा फाइवर, प्रोटिन कम हुन्छ र मात्र क्यालोरी शरीरमा पुग्छ ।

कफी पिउने 
यो विषय अलि विवादास्पद छ । तर कफीका फाइदाहरू धेरै छन् । कफीमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । केही खोजले कफीले मधुमेह, अल्जाइमर जस्ता रोग लाग्नबाट बचाउने देखाएका छन् । दिनमा ४ कपसम्म कफी पिउनु स्वास्थ्यका लागि राम्रो हो । तर गर्भवतीले कफी पिउनु हुँदैन । यसले कम तौल भएको बच्चा जन्मिने सम्भावना बढी हुन्छ ।  धेरै कफी र क्याफिन भएका पदार्थ पिउँदा अनिद्रा र मुटुको धड्कन सम्बन्धी समस्या आउन सक्छ । यसैले ठिक मात्रामा कफी पिउनुपर्छ । चिनीजन्य पदार्थ र क्रिम खानुभन्दा कफी खानु धेरै फलदायी हुन्छ ।

पर्याप्त सुताइ 
हामी सबैलाई अनुभूति हुने नै कुरा हो राम्रोसँग निन्द्रा नलागेमा शरीर फुर्तिलो हुँदैन । कम सुत्नाले शरीरमा इन्सुलिनको मात्रा बढ्ने, भोक लाग्ने हर्मोनलाई निस्किन पार्ने, मानसिक र शारीरिक कार्यमा असर पुर्‍याउने लगायत समस्या हुन्छ । कम निद्रा लाग्नुले शरीरको तौल वृद्धि गर्न समेत मद्दत गर्छ । धेरै चिल्लो भएको खाना, चिनीजन्य पदार्थ, क्यालोरी र माेटोपनाले निद्रा बिग्रिने समस्या उत्पन्न गराउँछ ।

प्रशस्त पानी पिउने 
हाइड्रेसन स्वस्थ रहन अति आवश्यक तत्त्व हो । पर्याप्त पानी पिउनाले शरीरले सबै काम राम्रोसँग गर्न सक्छ । रक्तसञ्चार राम्रोसँग हुनका लागि पनि हाइड्रेट रहन जरुरी छ । प्रशस्त पानी पिउनु हाइड्रेट रहने सबैभन्दा उत्तम उपाय हो । पानी गुलियो र क्यालोरीरहित पदार्थ हो । यती नै मात्रा पानी पिउनुपर्छ भन्ने त छैन तर तिर्खा नै लाग्न नपाउने गरी प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

प्रशस्त फलफूल र तरकारी खाने 
तरकारी र फलफूलमा प्रिबायोटिक फाइवर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट हुन्छ जुन स्वस्थ रहन धेरै प्रभावकारी मानिन्छ । विभिन्न अनुसन्धान र सोधहरूलाई आधार मान्ने हो भने धेरै तरकारी र फलफूल खाने व्यक्ति औसतभन्दा धेरै बाँच्ने गरेको तथ्य फेला पर्छ । तरकारी र फलफूल प्रशस्त खानाले मोटोपना तथा अन्य धेरै रोगबाट बच्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *