अमेरिकासँग सम्भव होला लगातार चौथो जित ?

काठमाडौँ । भारतमा २०२३ मा हुने एकदिवसीय विश्वकपको ढोकाका रूपमा रहेको आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले चौंथो पटक त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। पछिल्ला तीन खेलमा लगातार अमेरिकालाई पराजित गरेर बलियो छवि बनाएको नेपाल आज अमेरिकासँग लगातार चौथो जितको खोजीमा हुनेछ ।

यसअघि गत सोमबार ‌ओमानमै भएको खेलमा नेपाले २३० रनको लक्ष्य १ ओभर बाँकी छँदै ५ विकेट गुमाएर भेट्टाएको थियो । त्यसअघि नेपालले गत वर्ष नेपालमा भएको पहिलो खेलमा ३५ रन तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।

एकदिवसीय क्रिकेटको यो लामो फर्म्याटमा नेपालसहित सात देशले एक अर्कासँग होम एन्ड अवे आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिका र नेपाल दुबैले पपुवा न्युगिनिसँग प्रतियोगिता अघि दुई मैत्रीपूर्ण खेल खेल्दा दुवैले दुवै खेलमा जित निकालेका थिए ।

सात देश सम्मिलित प्रतियोगितामा नेपालले सर्वाधिक कम खेल खेलेको छ । त्यसैले नेपाललाई अहिले यो प्रतियोगितामा अंक तालिका सुधारको राम्रो अवसर समेत रहेको छ । होम एण्ड अवे आधारमा हुने त्रिकोणात्मक सिरिजमा एक टोलीले कुल ३६ एकदिवसीय खेल खेल्नेछन् ।

हेड टु हेड

अमेरिका नेपालसँग यो श्रृंखलाका तीन सहित समग्रमा ६ खेलमा पराजित भएको छ । त्यसैले पनि अमेरिका बढी दबाबमा हुनसक्छ । गत वर्षको त्रिकोणात्मक सिरिजपछि अमेरिकाले ६ खेलाडी परिवर्तन गरेको थियो । तर पनि नेपालसँगको अस्तिको खेलमा खासै गतिलो प्रदर्शन गरेन । यद्धपि उसले पुरै ओभर खेल्दै नेपाललाई चुनौती भने दिएको थियो ।

नेपालसँग नै उसले जितका लागि प्रयास गर्ने भएकाले स्वभाविक रूपमा अमेरिका कम्तिमा एक जितको खोजीमा हुनेछ । अमेरिकासँगका खेल प्रतिस्पर्धात्मक रहँदै आएको भएपनि जीत आफ्नै पक्षमा पार्दै आएको नेपाल पुन: एकपटक अमेरिकासँग अंक खोस्ने प्रयासमा हुनेछ ।

पछिल्लो पाँच वर्षमा भने यी दुई देशले सिमित मात्रै प्रतियोगिता खेलेका छन् । २०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा  नेपाल ९४ रनले पराजित हुँदा २०१४ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा १० रनले नेपाल विजयी भयो। यो प्रतियोगिता अघि पछिल्लो पटक २०१७ मा युएईमा भएको मैत्रीपुर्ण अभ्यासको ‘लो स्कोरिङ’ खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो।

नेपालले परिवर्तन गर्न सक्छ खेलाडी

नेपालले अमेरिकासँगको खेलमा जित निकालेपनि ओमानसँग ब्याटिङको पुरानै समस्या देखियो । अर्कोतिर नेपाली बलिङको पनि ओमानले धज्जी उडायो । खासगरी फास्ट बलरहरुबिरुद्ध ‌ओमानका ब्याट्स्म्यान हावी भए र ठूला-ठूला सट प्रहार गरे ।

आजको खेलमा ओमान भ्रमणमा खराब लयमा देखिएका कुशल मल्ल परिवर्तन हुन सक्नेछन् । ४ खेलमा मात्र ७ रन मात्र बनाएकाले उनको स्थानमा नेपालले अनुभवी ब्याट्सम्यान शरद भेषवाकरलाई खेलाउन सक्ने छ । उनी अफ स्पिनमा समेत बलिङ गर्न सक्ने भएकाले उनको संभावना बलियो छ।

त्यसो त अफस्पिन अलराउण्डर पवन सर्राफ पनि टीममा विकल्पका रुपमा छन्। पवन टिममा परे सन्दिप र सुशन पछि तेश्रो स्पिनरको भूमिका निर्वाह गर्न र ब्याटिङमा पनि आक्रामक हुन सक्नेछन् ।

यस्तै सोमपालको फास्ट बलिङले पनि ओमानमा खास काम गर्न नसकेकाले प्रशिक्षक ह्वावटमोरले उनको पनि विकल्प खोज्न सक्नेछन् । पछिल्ला ४ खेलमा मात्र २ विकेट लिएका सोमपाल ओमान र अमेरिकासँगको खेलमा विकेटविहिन रहेका छन् । सोमपालको स्थानमा युवा फास्ट बलर गुल्सन झाको डेब्युको संभावना पनि छ । टिममा देब्रे हाते ब्याट्सम्यानको अभाव भइरहँदा गुल्सन राम्रो विकल्प बन्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *