रावल र भट्टलाई आगामी निर्वाचनमा देखाउँछौँ : दीर्घ सोडारी

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले अब आगामी निर्वाचनमा देखाइदिने चेतावनी दिएका छन् । जिल्लाको गोदावरी नगरपालिकाको प्रथम नगर भेलालाई सम्बोधन गर्दै नेता सोडारीले यस्तो चेतावनी दिएका हुन् ।

सम्बोधनका क्रममा रावलप्रति आक्रोशित देखिएका नेता सोडारीले रावललाई षड्यन्त्रकारीको संज्ञासमेत दिए । उनले आउँदो निर्वाचनमा रावल र भट्ट दुवैको क्षेत्रबाट आफ्नो पार्टीले जित हात पार्ने बताए ।

‘हिजो ओलीलाई देखाइदिन्छौँ भन्दै थिए, आज खुट्टा कमाएर त्यही ओलीको टाङ्मुनि छिरेका छन्,’ रावलप्रति कटाक्ष गर्दै सोडारीले भने, ‘यो सबै उनको षडयन्त्र थियो ।’ १० बुँदे सहमतिका नाममा रावललगायतका १० जना नेताहरूले षडयन्त्र रचेको उनले आरोप लगाए ।

उनले एमाले विभाजनपछि भीम रावलको वास्तविकता बाहिर आएको समेत बताए । ‘संसद् विघटनका बेला हामीसँग आउँदा रावललाई सबैले शक्तिशाली भएको ठानेका थिए,’ उनले भने, ‘त्यो सत्य थिएन, एमाले विभाजनपछि रावलको शक्ति प्रष्ट देखिइसकेको छ ।’ रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए ।

‘रावलले हामीसँग सहकार्य गर्दा हामीले उनलाई नेता मानेका थियौँ,’ उनले भने, ‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठूलो दल बनेको छ ।’ साथै उनले रावललाई नेकपा (एस)मा आए फेरि नेता मान्न तयार भएको समेत बताए । प्रदेशको भौतिक पूर्वाधार तथा योजना मन्त्रीसमेत रहेका सोडारीले सुदूरपश्चिममा आफूलाई ठूला ठान्ने दुवै नेता अहिले एकै ठाउँमा रहेर पदका लागि झगडा गरिरहेको उनले बताए ।

‘ओलीपक्षीय नेता/कार्यकर्ताले लेखराज भट्टलाई ईन्चार्ज भनिरहेका छन्,’ उनले भने, ‘तर‚ भीम रावल आफू नै संयोजक हुँ भनिरहेका छन् । अब ठूला हुँ भन्नेका दिन गए ।’ माओवादीबाट एमालेमा गएका भट्टसमेत एक्लिएको भन्दै उनले आगामी निर्वाचनमा उनको क्षेत्रमा आफूहरूले जितेर देखाउने दाबी गरे ।

‘भट्ट एमालेमा गएपछि एक्लिइसके,’ उनले भने, ‘भोट दिएर जिताउने कार्यकर्ता माओवादीमै छन् । यो क्षेत्रमा हामी चुनाव जितेर देखाउँछौँ ।’ यसअघि गोदावरी निर्वाचन क्षेत्रमा माओवादी केन्द्रबाट लेखराज भट्टले प्रतिनिधिसभा र कृष्णराज सुवेदीले प्रदेश सभामा जितेका थिए । अहिले दुवै जना एमालेमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *