चीनलाई चुनौती दिन बेलायत, अमेरिका र अस्ट्रेलियाबीच सम्झौता

काठमाडाैँ । यूके, अमेरिका र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । उक्त कदम चीन लक्षित रहेको बताइएको छ ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्नेछ । इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन् ।

पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ । सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो । त्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्बन्धी सम्झौता थियो ।

‘शीतयुद्धको मानसिकता’
चीनले तत्काल प्रतिक्रिया जनाउँदै यूके, अमेरिका र अस्ट्रेलियाको पछिल्लो कदमको निन्दा गरेको छ । एउटा प्रत्यक्ष भिडिओ सम्मेलनका क्रममा तीनवटै देशका नेताहरूले सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई बल दिने बताएका छन् ।

तर वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप लगाएको छ । नयाँ पनडुब्बीहरूमा आणविक हतियार भने नहुने बताइएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *