गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक आज बिहान २:३० बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुङ्गा लागेको हो ।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका-५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन्। अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

यस्तै, ढुङ्गा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका-११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका-४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। शव घटनास्थलमै रहेको छ । बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनापश्चात् राजमार्ग केही घण्टा अवरुद्ध रहेको भए पनि अहिले भने सञ्चालनमा आएको छ ।

– ‍रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *