नेपाललाई ओमानमै ओमानसँग बदला लिने मौका

काठमाडौँ । फेब्रुअरी ५, २०२० मा नेपालले आईसीसी विश्वकप लिग-२ मा आफ्नै मैदानमा ‘डेब्यू’ खेल खेल्दै थियो । प्रतिद्वन्द्वी थियो ओमान । कीर्तिपुरमा हजारौँ दर्शकसामु ओमानले सानदार प्रदर्शन गर्‍यो र नेपाललाई १८ रनले हरायो । प्रतियोगिताको अर्को खेल पनि नेपालका लागि सम्झनलायक रहेन‚ जहाँ नेपालले ‘अकल्पनीय’ ८ विकेटको हार व्यहोरेको थियो ।

घरेलु दर्शकमाझ नेपालले भोग्नुपरेको हारको पीडा भुलाउने मौका नेपालले आज पाउँदैछ । त्यसैले आज ओमानको मैदानमा नेपालले त्यो पराजयको बदला लिनेगरी खेल्नुपर्नेछ ।

खेल ओमानको अल अमिरेत मैदानमा नेपाली समयअनुसार बेलुका ४:१५ बजे शुरु हुनेछ । यही मैदानमा नेपालले अमेरिकालाई सोमबार ५ विकेटले हराएको थियो ।

के भएको थियो कीर्तिपुरमा ?
नेपालको लिग-२ डेब्यू खेल प्रतिस्पर्धात्मक नै रह्यो‚ जहाँ नेपाल १८ रनले हार्‍यो । त्यसपछि अमेरिकालाई हराएर आत्मविश्वासी बनेको नेपाल त्यतिबेला स्तब्ध भयो, जतिबेला घरेलु दर्शकले ओमानको ‘कन्सिस्टेन्ट’ ब्याटिङ देखे । ९ फेब्रुअरीमा भएको दोस्रो खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । नेपालले घरेलु मैदानमा दोस्रो ठुलो एकदिवसीय स्कोर बनायो ।

कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले २ सय ४९ रन बनाएको थियो । सबैलाई लागेको थियो‚ घरेलु मैदानमा नेपालले यो स्कोर सजिलै जोगाउँछ र ओमानसँग अङ्क खोस्छ । तर ओमानले नेपाली मैदानमा यस्तरी खेल्यो कि ओमानी ब्याट्सम्यानको तारिफ गर्न घरेलु समर्थक बाध्य भए ।

ओमानका केवल ४ खेलाडीले नै नेपालको उच्च स्कोरलाई पाखा लगाइदिए । उसका लागि अकिब इलियास र कप्तान जेसन मक्सुदले तेस्रो विकेटका लागि १६७ रनको नटआउट साझेदारी गरे । इलियासले १०९ रनको शानदार शतकीय इनिङ खेल्दा कप्तान मक्सुदले ६८ रन बनाए ।

उनीहरूले धीरतापूर्वक रन बनाउँदै ओमानलाई जिताएका थिए । इलयासले केवल १ छक्का प्रहार गरेका थिए । जबकि कप्तानले एउटा पनि छक्का प्रहार गरेनन् । मतलब दुवै ब्याट्सम्यानले रन बनाउने हतारो गरेनन्‚ टिकेर जित्ने नीति लिए । उनीहरूको ब्याटिङमा निरीह देखिएको नेपाल १६ बल अगाडि नै ८ विकेटले नतिजा सुम्पन बाध्य भयो । सधैँ बलियो रहने नेपाली बलिङ ओमानी ब्याट्सम्यानसामु दयनीय हुनपुगेको थियो ।

ओमानको मैदानमा के होला ?
नेपाल १९ महिनापछि सोही प्रतियोगिताको अर्को त्रिकोणात्मक खेलका लागि अहिले ओमानको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेपाली मैदानमा भोगेको पराजयले झस्किएको नेपाल पछिल्ला तीन खेलपछि आत्मविश्वासी छ । अझ अमेरिकासँगको पहिलो खेलमा सोमबार नेपाली ब्याट्सम्यानले खेलेको सुझबुझपूर्ण इनिङले ओमानसँग बदला लिन नेपाली खेलाडी सक्षम रहेको सन्देश दिएको छ । अमेरिकाले पूरै ५० ओभर खेलेर दिएको २३१ रनको लक्ष्य नेपालले मैदानमा हतारो नदेखाई भेट्टाएको थियो । ओपनिङमा कुशल र आसिफले ६६ रनको भरपर्दो साझेदारी गरे । उनीहरू आएपछि ओपनिङको समस्याबाट नेपालले राहत महसुस गरेको छ । कुशलले ८४ रन बनाउँदा खेलेको इनिङ सुझबुझपूर्ण देखिन्थ्यो ।

ठुला सट खेल्ने खेलाडीका रुपमा चिनिएका रोहितकुमार पौडेलले पनि मैदानमा टिकेर ब्याटिङ गर्दै नटआउट रहे । बिनोद भण्डारीको खेल पनि भरलाग्दो रह्यो । तर ‘अस्थिर ब्याटिङ’को चिन्ताबाट मुक्त हुने अवस्था भने भइसकेको छैन । यद्यपि श्रृंखलाको शुरुवात सन्तोषजनक भएको छ । त्यसलाई कायम राख्न सके आजको खेल थप रोमाञ्चक हुनेछ ।

नेपाल र ओमान हेड टू हेड
नेपाल र ओमनबीच अहिलेसम्म भएका ९ भेटमा नेपालले ३ खेल मात्र जितेको छ । ६ खेलमा ओमानले जितेको छ ।

नेपालले ओमानलाई सन् २०१३ देखि हराउन सकेको छैन । २०१३ मा डिभिजन थ्री खेल्दा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसयता भएका छ खेलमा सबै खेलमा ओमान विजयी हुँदै आएको छ । आजको खेल २०१३ पछि ओमानलाई हराउने अवसर पनि हो नेपालका लागि ।

२००२ एसीसी ट्रफी : नेपाल १०५ रनले विजयी
२०१० एसीसी ट्रफी एलिट : नेपाल ६ विकेट विजयी
२०१३ डिभिजन थ्री : नेपाल २८ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग : ओमान २ विकेटले विजयी
२०१५ एसोसिएट टुर म्याच : ओमान ३ विकेटले विजयी
२०१८ डिभिजन टू : ओमान ६ विकेटले विजयी
२०१८ एसिया कप छनोट : ओमान ७ विकेटले विजयी
२०२० आईसीसी विश्वकप लिग-२ : ओमान १८ रनले विजयी
२०२० आईसीसी विश्वकप लिग-२ : ओमान ८ विकेटले विजयी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *