एमसीसी अनुमोदन गर्दा नै राष्ट्रको हित हुन्छ : बाबुराम

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन् ।

गोरखा सदरमुकाममा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताएका हुन् । ‘एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेको छ’, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री डा भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताए । ‘एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्’, उनले भने ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताए । उनले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *