तालिबानको कब्जापछि काबुलमा पहिलो विदेशी व्यावसायिक उडान

काबुल । पाकिस्तानको सरकारी एयरलाइन्स (पीआईए)को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो ।

इस्लामाबादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रुभन्दा धेरै विमानका कर्मचारी रहेका जनाएका छन् । पाकिस्तानको एयरलाइन्स, पीआईएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि आइतबार बताएको थियो ।

पाकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको थियो । अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो ।

त्यसयता यहाँका कयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका छन् । पीआईए बाहेक अरु देशका विमान कम्पनीले भने उडान शुरु गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *