बाइडेनलाई प्रकाण्डको चुनौती- ‘एमसीसी पारित गराएर लुटको राज्य विस्तारको सपना नदेखे हुन्छ’

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी पारित गर्न दबाब नदिन अमेरिकालाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको नामै किटान गर्दै प्रकाण्डले भने, ‘खबरदार ! जो बाइडेनले यो बुझ्नुपर्छ कि– न्यायप्रेमी जनताहरूमाथि विभिन्न बहानामा लुटको राज्य विश्वव्यापी गर्छु भनेर नसोचे हुन्छ । त्यो सपना नदेखे हुन्छ । किनकि नेपालमा नेपाल कम्युनिष्ट पार्टी छ । यसले खबरदारी, प्रतिवाद र विरोध सधैं नेपाल कम्युनिष्ट पार्टीले गर्नेछ । लड्नेछ ।’

एमसीसी सम्झौता खारेज नभइन्जेलसम्म आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने प्रकाण्डको भनाइ थियो । ‘एमसीसीजस्तो राष्ट्रघाती परियोजना खारेज हुनुपर्छ,’ प्रकाण्डले भने, ‘जबसम्म यसको खारेज हुँदैन, त्यतिबेलासम्म नेपाल कम्युनिष्ट पार्टीले यसको प्रतिवाद गरिरहन्छ । यसको विरोध गरिरहन्छ । विरोधको लागि नेतृत्व गरिरहन्छ ।’

नेपालका दलाल पूँजीपति वर्गहरूकै कारण एमसीसी सम्झौता भएको उल्लेख गर्दै प्रकाण्डले भने, ‘अहिलेको देउवा सरकारलाई आग्रह छ । पहिले एउटा गल्ती गर्नुभयो । अब अर्को गल्ती नगर्नुस् । तपाईं किन जनताको विरोधको भूमरीमा पर्नुहुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *