आईसीसी विश्व कप लिग-२

फेरिएको अमेरिकालाई जित्ने चुनौती

नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडाैँ । आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले आज दोस्रो त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग खेल्दै छ । डेढ वर्षपछि अमेरिकासँग मैदानमा उत्रँदा नेपालले आफूलाई बलियो प्रमाणित गर्नुपर्ने चुनौती छ ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा खेल  नेपाली समय अनुसार बेलुकी ४:१५ बाट सुरू हुने छ।  खेल डे-नाइट हुनेछ ।

छनोट अन्तर्गत नै नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो । जहाँ नेपालले दुवै खेलमा जित्दै ४ अंक बटुलेको थियो । तर त्यो शृङ्खला पछि अमेरिकाले आफ्नो टीममा व्यापक फेरबदल गरेको छ । त्यसैले ‘पुरानो’ अमेरिकालाई हेरेर आजको खेल अनुमान गर्नु हतार हुने छ ।

याे पनि : नेपाललाई लय समाउने अवसर

गत वर्षको त्रिकोणात्मक सिरिजपछि अमेरिकाले ६ खेलाडी परिवर्तन गरेको छ । त्रिकोणात्मक सिरिज अघि नेपालले जस्तै अमेरिकाले पनि पीएनजीसँग नै दुई अभ्यास खेल खेलेको थियो । जसमा दुवै खेलमा अमेरिका विजयी भयो। मुख्य रूपमा विकेटकिपर जसकरण मल्होत्राको कीर्तिमानी ब्याटिङ नेपालका लागि पनि चुनौती हुने छ । उनले पीएनजीसँगको दोस्रो खेलमा एक ओभरका ६ बलमा ६ छक्का प्रहार गर्दै १७३ रनको अविजित इनिङ खेलेका थिए  ।

कीर्तिपुरमा भएको खेलमा नेपालसँग ३५ रनमा अलआउट भएपछि अमेरिकाले प्रशिक्षक परिवर्तन गर्‍यो । न्युजिल्यान्डका जिम्मी पेनेटको स्थानमा भारतका जे अरुण कुमार अमेरिकाको प्रशिक्षक बने । त्यसपछि अमेरिकामा व्यापक परिवर्तन भएको छ ।

नयाँ खेलाडीहरू गजानन्द सिंह, अभिषेक पराडकर, सुशान्त मोदानी र डोमिनिक रिखीलाई समावेश गर्दै टिम बलियो बनाएको छ । त्यसैले नेपालसँग अमेरिकाको खेल स्वाभाविक रुपमा प्रतिस्पर्धात्मक हुने छ ।

नेपाल र अमेरिका धेरै पटक प्रतिस्पर्धा गरिरहेपनि पछिल्लो पाँच वर्षमा भने सीमित मात्रै प्रतियोगिता खेलेका छन् । २०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा  नेपाल ९४ रनले पराजित भएको थियो भने  २०१४ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ नेपाल १० रनले विजयी भयो ।

त्यसपछि २०१७ मा युएईमा भएको मैत्रीपूर्ण अभ्यास खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो तर गत वर्ष भने अमेरिका नेपालविरुद्ध कमजोर साबित भयो । २०२० मा भएको विश्वकप लिग-२ का दुवै खेलमा नेपाल विजयी हुँदा अमेरिका सोच्न बाध्य भएको थियो ।

त्यसपछि उसले टिममा व्यापक परिवर्तन गरेको हो । त्यसैले आजको खेलमा फेरिएको अमेरिकाविरुद्ध नेपाल ब्याटिङ समस्याबाट मुक्त हुनु जरुरी छ भने बलिङ, फिल्डीङमा संयमित रहेर जित निकाल्दै अङ्क तालिका सुधार्नु अर्को चुनौतीका रुममा रहने छ ।
नेपालले दोस्रो खेलमा १४ सेप्टेम्बरमा ओमानसँग  तथा  तेस्रो खेल १७  सेप्टेम्बरमा अमेरिकासँग र चौथो खेल १९ सेप्टेम्बरमा ओमानसँग खेल्दै यो शृङ्खला अन्त गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *