आलोचनापछि सभामुखले सुरु गरे संवाद, एमाले केही लचिलो

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा जारी रहेको अवरोध अन्त्यको प्रयास भएको छ । यो प्रयासमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संवादको शुरुवात गरेका छन् भने निरन्तर बैठकमा अवरोध गर्दै आएको एमाले केही लचक देखिएको छ ।

संसद अधिवेशन शुरु हुनुअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने अभ्यास छ । तर, यो अभ्यासलाई सभामुख सापकोटाले तोडेका थिए । उनले प्रमुख प्रतिपक्षी एमालेसँग संसदको चालु अधिवेशन सञ्चालनका विषयमा कुनै प्रकारको छलफल गरेका थिएनन् ।

तर, एमालेको निरन्तर अवरोध जारी रहेपछि सभामुख सापकोटाले संवादको थालनी गरेका हुन् । आइतबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित गरेर उनले एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारी र कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग अवरोध हटाउने विषयमा छलफल गरे ।

नेताहरूका अनुसार छलफलमा सभामुखले आफूले संविधान र कानूनबाहिर गएर कुनै कार्य नगरेको उल्लेख गर्दै संसदमा अवरोध नगर्न एमालेलाई आग्रह गरे । जवाफमा एमाले नेताहरूले आफ्नो पार्टी विभाजनमा किन भूमिका खेलेको भनी प्रश्न गरे ।

‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रष्ट भन्यौँ’, बैठकपछि एमाले प्रमुख सचेतक भट्टराईले भने ।

सभामुखले १४ जना सांसदलाई कारबाही गरेको एमालेको पत्रअनुसार सूचना टाँस गर्नुपर्ने प्रष्ट अडान रहेको कुरा राख्यौँ‚’ एमाले सचेतक शान्ता चौधरीले बताइन् ।

कानूनमन्त्री कार्कीले भने शीर्ष नेताहरूको बीचमा छलफलको आवश्यकता औँल्याए । त्यसपछि सभामुखले सर्वदलीय बैठक बोलाउने भन्दै आइतबारको दोस्रो बैठकमा अवरोध नगरिदिन आग्रह गरे । तर, एमालेले मानेन् । ‘पहिले शीर्ष नेताहरूसँग छलफल गरेर सहमति निकाल्नुस् त्यसपछि सदन चल्छ‚’ सभामुखलाई दिएको जवाफ उद्धृत गर्दै एमाले सचेतक चौधरीले बताइन् ।

एमालेको निरन्तर अवरोध र अवरोध नखोल्ने अडानपछि सभामुख सापकोटाले सोमबारको दोस्रो बैठक स्थगित गरेर अर्को बैठक २९ गते दिउँसो १ बजेलाई राखे । २८ गते दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाए ।

‘एमालेले गरेको निरन्तर अवरोधलाई कायम राखेर अघि बढ्ने कुरा भएन । एमालेले पनि निरन्तर अवरोध गर्ने कुरा भएन । यसमा के सहमतिमा पुग्न सकिन्छ पुगौँ‚ र संसदलाई गतिशील बनाऔँ भनेर सर्वदलीय बैठक बोलाइएको हो‚’ सभामुखको सचिवालयले भनेको छ ।

पार्टी विभाजन नहुँदै २०७८ भदौ १ मा एमालेले १४ जना सांसदलाई कारबाही गरेको सूचना संघीय संसद सचिवालयमा दिएको थियो । उक्त सूचनाअनुसार सभामुखले तत्काल सूचना नटाँसेर पार्टी फुटाउन सहयोगी भूमिका खेलिदिएको एमालेको आरोप छ ।

यो विषयलाई लिएर एमाले सर्वोच्च अदालत गएको छ‚ र मुद्दा अझै अदालतमा विचारधीन अवस्थामा छ ।

अदालतमा विचाराधीन विषयमाथि संसदमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था छ । यो विषयलाई सभामुखले एमालेको अवरोध कायम रहँदा पनि पटक-पटक स्मरण गराएका थिए । उनले सभामुखको आसनबाटै वार्ता र संवादबाट समस्याको समाधान खोज्न सकिने बताएका थिए ।

‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु‚’ उनले भने, ‘हामी सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपील गर्छु ।’

एमाले केही लचिलो
एमालेले सोमबार प्रतिनिधिसभाको बैठकअघि संसदीय दलको बैठक बोलाएको थियो । बैठकलाई सम्बोधन गर्दै एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीले तोकेका नाराहरू मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरूलाई निर्देश गरे ।

शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरूले रोस्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले संसदीय दलको बैठक नै बोलाएर सांसदहरूलाई सम्झाएको हो ।

‘हामी बेलमा जान्छौँ । नारा लगाउँछौँ । सामान्य अवस्था आयो भने बिस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र बेलमा जानेभन्दा बाहिर जानु हुँदैन‚’ ओलीले सांसदहरूलाई भने‚ ‘म माननीयजीहरूलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरू छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौँ ।’

ओलीको निर्देशनअनुसार प्रतिनिधिसभामा एमाले सांसदहरू शुक्रबारको तुलनामा धेरै शालीन भएर प्रस्तुत भए । उनीहरूले सांसदहरूलाई उचाल्ने, रोस्टममा उक्लने प्रयास गर्ने, धकेलाधकेल गर्नेजस्ता कार्य गरेनन् । पालैपलो सांसदहरूले नारा लगाएर अवरोध कायम राखे ।

एमाले संसदीय दलका नेता ओलीले पार्टीका सांसदहरूलाई जथाभावी नबोल्नसमेत सचेत गरेका छन् ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हान्ने योजना रहेको समेत प्रतिक्रिया दिएकी थिइन् ।

एमालेकी सांसद झाको प्रतिक्रियाको निकै आलोचना भएपछि संसदीय दलका नेता ओलीले प्रष्टीकरण दिएका छन्, ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन ।’ ओलीको निर्देशनअनुसार एमाले सांसदहरूले आइतबार कुनै विवादित हुने गरी प्रतिक्रिया दिएनन् ।

एमालेसँग संवाद नै नगर्ने सभामुखको प्रवृत्ति मूल समस्या भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘हामीले भन्दा भन्दा आज बल्ल सभामुखले हाम्रो पार्टीका प्रमुख सचेतक र सचेतकलाई बोलाउनुभयो । योभन्दा अघि कहिल्यै बोलाउनुभएन‚’ नेम्वाङले थपे, ‘प्रमुख प्रतिपक्षीसँग छलफल नै नगर्ने‚ यस्तो प्रकारको रबैया र स्थितिले हो‚ संसद अवरोध निरन्तर भएको ।’

सभामुखले संवाद थालनी गरेका कारण अब कुनै न कुनै सहमतिमा पुगिन्छ भन्ने विश्वास रहेको उनले बताए । एमाले शान्त भएपछि सबै चीज ठीक हुने उनको भनाइ छ ।

‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरूलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो‚ तर हाम्रो हकमा किन भएन ? प्रश्न यो हो‚’ उपनेता नेम्वाङले भने, ‘हामी (एमाले)लाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *