संसद् कहिले चल्छ ? प्रधानमन्त्री भन्छन्- ‘ओलीलाई सोध्नुस्’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक कहिलेदेखि सञ्चालन हुन्छ ? भन्नेबारे विपक्षी दललाई सोध्न आग्रह गरेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण आइतबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रधानमन्त्री देउवाले संसद्को अवरोध कहिले हट्छ ? भन्नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मात्र थाहा हुने र यसबारे ओलीलाई नै सोध्नुपर्ने बताएका हुन् ।

सञ्चारकर्मीको ‘संसद् अवरोध कहिलेसम्म हट्छ ?’ भन्ने  प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘यो प्रश्न केपी ओलीलाई सोध्नुस् ।’

गत बुधबारदेखि शुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनमा अहिलेसम्म तीन दिन पटक-पटक बैठक बसेपनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सर्दै आएका छन् । यसअघिका दुई बैठकमा होहल्लाकै बीच केही विधेयकहरु पेश गरिएपनि आज भने कार्यसूचीमै प्रवेश नगरि बैठक स्थगित गरिएको हो ।

बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

आजको पहिलो बैठक स्थगित भएपछि संसद् खुलाउने प्रयासस्वरुप सभामुख, कानूनमन्त्री र एमालेका मुख्य सचेतक सचेतकसहितको बैठक बसेपनि सहमति भने हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *