गोन्जालोको नालीबेली : प्राध्यापकदेखि साइनिङ् पाथ हुँदै जेलमै मृत्युसम्म

काठमाडौँ । शनिबार ८६ वर्षको उमेरमा पेरुको सैन्य जेलमा मृत्यु भएका गोन्जालो अहिले सबैको चासोको विषय बनेका छन् । पेरुमा सन् १९८० देखि १९९० को दशकभरि चलेको ‘साइनिङ पाथ’ नामक माओवादी आन्दोलनका मुख्य नेता थिए गोन्जालो । उक्त आन्दोलनमा ७० हजार मानिसको ज्यान गएको थियो । अमेरिकी स्टेट डिपार्टमेन्टले यसलाई ‘नरसंहार’को संज्ञासमेत दिएको थियो ।

गोन्जालोले साइनिङ पाथ नामाकरण गर्नुमा पेरुकै एक वामपन्थी नेताको भनाइ जोडिन्छ । पेरुका प्रसिद्ध वामपन्थी नेता होसे कार्लोस मारिआटेगुइको भनाइ थियो, ‘मार्क्सवाद, माओवाद र लेनिनवाद भविष्यको चम्किलो बाटो (साइनिङ पाथ) हो ।’ त्यहि भनाइ र तिनै नेताको सम्मानमा गोन्जालोले माओवादी आन्दोलन ‘साइनिङ पाथ’ सुरु गरेका थिए ।

पेरुका विश्वविद्यालयमा दर्शनशास्त्र पढाउने उनले जर्मन दर्शनशास्त्री इम्यानुएल कान्टको बारेमा थेसिस लेखेका थिए ।

चीन भ्रमणपछि फुरेको अवधारणा, मतपत्र च्यातेर आन्दोलन सुरु
सन् १९३४ को डिसेम्बरमा पेरुको दक्षिणी शहर मोहेन्दोमा जन्मिएका गोन्जालोको खास नाम अभिमाइल गुजमान थियो । धनाढ्य व्यापारीको घरानामा जन्मेका उनलाई आमाको मृत्युपछि बाबुले हुर्काएका थिए ।

स्थानीय सुविधासम्पन्न क्याथोलिक निजी स्कुल पढेका उनी अमेरिकामा रहेर विश्वविद्यालयमा दर्शनशास्त्र पढे । विश्वविद्यालयमा हुँदा उनी मार्क्सवादसँग आकर्षित भए । सन् १९६२ मा उनी विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक भए ।

विश्वविद्यालय प्रवेश गरेको तीन वर्षपछि उनी चीनको भ्रमणमा गए । सन् १९६५ मा चीन पुगेका उनले चीनकै जस्तो मोडेलको सत्ता चलाउन पहल थाले । सन् १९६९ मा उनले स्पेनी भाषामा सेन्देरो लुमिनोसो‚ अर्थात् ‘साइनिङ पाथ’को स्थापना गरे । ‘साइनिङ पाथ’ले विश्वविद्यालयकै गतिविधिमा आबद्धता जनाएको थियो ।

तर जब १२ वर्षको सैन्य शासन अन्त्य हुँदै लोकतन्त्र स्थापनाका लागि सन् १९८० मा पेरुमा चुनाव भयो । गोन्जालो चुनावको विपक्षमा लागे । उनको पार्टी ‘साइनिङ पाथ’ले मतपत्र च्यात्यो । मतपेटिका जलायो । मतदान बहिस्कार गर्‍यो ।

आफ्नो आधार क्षेत्रका विपक्षीहरूलाई काटमार गर्न थाल्यो । सरकारी अधिकारीहरूको सार्वजनिक स्थलमा हत्या गर्न थाल्यो । सन् १९८० बाटै ‘साइनिङ पाथ’ भूमिगत भयो । जंगल पस्यो ।

गोन्जालोको प्रसिद्ध भनाइ- साम्यवादमा पुग्न रगतको खोलो तर्नैपर्छ
हत्या हिंसाको माध्यमबाट आन्दोलनको सुरुवात गरेको ‘साइनिङ पाथ’मा लाग्न गोन्जालोका विभिन्न नारा र भनाइहरू हुन्थे । उनी मर्न र मार्न उक्साउँथे । मर्नु र मारिनुबाटै साम्यवाद आउने भन्दै उनले कार्यकर्तालाई उक्साउँथे । उनले हरेकलाई ‘रगतको कोटा’ पुर्‍याउन आग्रह गर्थे ।

उनको अर्को भनाइ थियो, ‘हिंसा सर्वव्यापी छ । क्रान्तिकारी हिंसाबिना पुरानो व्यवस्था परिवर्तन हुँदैन ।’ यो भनाइ उनले सन् १९८८ मा पार्टीको मुखपत्र ‘एल डिआरियो’मा भनेका थिए । यस्तै सन् १९८० को एक भाषणमा उनले भनेका थिए, ‘भविष्य बन्दुक र तोपहरूमा निर्भर छ ।’

सन् १९८३ मा पेरुको लुकानामार्कामा ‘साइनिङ पाथ’ले गरेको नरसंहारको धेरैले अहिलेपनि विरोध गर्छन् । त्यहाँ उनीहरुले ६ महिने बच्चा, गर्भवतीदेखी वृद्धवृद्धाको समेत सामुहिक हत्या गरेका थिए भने चीन र जापानी दूतावासमा समेत कार बम हमला गरेका थिए । गोन्जालोले आफूलाई मार्क्सवादका चौथो तरबार मान्थे । मार्क्स, लेनिन र माओपछि आफू भएको उनको दावी हुन्थ्यो ।

राजधानीमै लुकेको अवस्थामा पक्राउ, जेलमै विवाह
पेरुको कुना कन्दरा र विभिन्न शहरहरुमा आक्रमण गर्ने ‘साइनिङ पाथ’ आन्दोलनका नेता गोञ्जालो भने पेरुको राजधानी लिमामै लुकेको अवस्थामा भेटिएका थिए । उनी आफ्नी महिला मित्र एलिना इपारागिरेसँगै बसेका थिए । लिमाको एक विशाल भवनको दोस्रो तलामा उनी बसेको पत्ता लाग्यो । सोरोसिस रोगका बिरामी गोञ्जालोलाई त्यहि बिरामीले खाने औषधिको खोल भेटिएको आधारमा सरकारी गुप्तचरले पत्ता लगाएका थिए ।

उनलाई गुप्तचरी भाषामा ‘बिग चेक’ भनिएको थियो । सन् १९९२ सेप्टेम्बर १२ मा उनलाई पक्राउ गरिएको थियो । उनको पक्राउलाई पेरुका मुलधारका मिडियाले ‘शताब्दीकै पक्राउ’ भनेर चित्रितसमेत गरेका थिए ।

सन् १९९० जुन २८ देखि २००० नोभेम्बर २२ सम्म सत्तामा आएका पेरुका राष्ट्रपति अल्बर्टो फुजिमोरीले ‘साइनिङ पाथ’ माओवादी आन्दोलनलाई छिन्नभिन्न पारेका थिए ।

फुजिमोरी ।

उनी चुनावबाट आएको दुई वर्षमै गोञ्जालो पक्राउ परे । पक्राउ गरेको दोस्रो वर्षमा सन् १९९३ अक्टोबरमा उनलाई टेलिभिजनमा बोल्न लाएर अफ्ना समर्थकलाई हतियार बिसाउन आग्रह गर्न लगाइयो । गोन्जालोले भनेपछि ६ हजारभन्दा बढि लडाकुले हतियारसहित आत्मसमर्पण गरे । उनले ७५ वर्षको उमेरमा जेलमै दोस्रो विवाह गरेका थिए । आफूसँगै पक्राउ परेकी एलिना इपारागिरेसँग उनले विवाह गरेका थिए ।

फुजिमोरिकै पालामा ‘साइनिङ पाथ’ प्रभावहीन बन्यो । अहिले पनि पेरुको ग्रामीण क्षेत्रमा ‘साइनिङ पाथ’का केहि घटक त छन्‚ तर उनीहरू लागुऔषध कारोबारमा सक्रिय भएको मानिन्छ । रोचक कुरा त के भने गोन्जालोलाई आतंकवादको मुद्दामा थुनेका अल्बर्टो फुजिमोरी पनि सन् २००९ देखी २४ वर्षको मानव अधिकार हनन र हत्याको मुद्दामा जेलमा छन् । उनकै छोरी केइको फुजिमोरी यो वर्ष भएको राष्ट्रपति चुनावमा पराजित भएकी थिइन् ।

उनी फ्री पेरु पार्टीका वामपन्थी उम्मेदवार पेड्रो कास्टियोसँग करिब ५० हजार मतले पराजित भएकी थिइन् । वामपन्थी राष्ट्रपति भएर पनि पेड्रोले गोन्जालोको समर्थन गरेनन् । उनले मृत्युपछि गोन्जालोलाई ‘आतंककारी नेता’ नै भनेका छन् ।

(अन्तरराष्ट्रिय संचारमाध्यमहरूको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *