आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

थारु समुदायमा अट्वारी पर्वको रमझम

सुदूरपश्चिम । पश्चिम नेपालमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा ‘अट्वारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता, र सम्बन्ध सुदृढ पार्ने सो पर्व विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी डगौंरा समुदायमा मनाइने गरिन्छ ।

सो समुदायले आइतबारको दिनलाई ‘अट्वार’ नामले चिन्ने हुँदा यसै दिन यो पर्व मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।

वर्षा ऋतुमा खेतीका काममा निकै व्यस्त रहने यो समुदायका व्यक्तिपर्व सुरु भएसँगै भने खेतीपातीका लागि गर्नुपर्ने कामको बोझ हटेको मान्दछन् । कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै ती समुदायका मानिस टोल टोलमा सामूहिक रूपमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाहरूले साँझपख आ–आफ्नो घरमा खानाका मिठा परिकारको व्यवस्था गर्ने गर्दछन् । खानाको व्यवस्थापनपछि पूजामा बस्ने गर्दछन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुहरूले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान यो परिकार विवाहिता आफ्नी छोरी, बहिनीको घरसम्म पुर्‍याइदिने प्रचलन छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीलाई ‘अग्रासन’ अर्थात् खानका मिठा परिकार उपलब्ध गराउने व्यवस्था गरिन्छ । यस्तो कामलाई ‘अग्रासन’ दिने भनिन्छ ।  अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारतको युद्धमा पराजित भई वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको यो समुदायका अगुवाहरू बताउँछन् ।

यस पर्वको दिनदेखि चौधरी समुदायमा ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । सुदूरपश्चिम प्रदेश सरकारले अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *