स्पाइनल कर्ड इन्जुरी भएका बिरामीले दिए सरकारलाई धन्यवाद

काठमाडौँ । सरकारले स्पाइनल कर्ड इन्जुरी भएर हिँड्न ह्वील चियरमा प्रयोग गर्नेहरूलाई मासिका पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

२०७४ सालमा भएको तीनै तहको निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मासिक पाँच हजार दिने निर्णय गरेको थियो । त्यो निर्णय निर्वाचन आचारसंहिता लागू भएपछि गरेको भनेर निर्वाचनपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेको थियो ।

अहिले पुनः नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि उनीहरूलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । स्पाइनल कर्ड इन्जुरी भएकाहरूले दुई साताअघि सिंहदरबारमा पुगेर गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर पहिला निर्णय भएको र ओली नेतृत्वको सरकारले काटेको भत्ता पुनः दिने निर्णय गरिदिन आग्रह गरेका थिए । उनीहरूले सरकारले निर्णय गरेपछि गृहमन्त्री खाणलाई धन्यवादसमेत दिएका छन् ।

मन्त्रिपरिषद्ले मासिक भत्ता दिने निर्णय गरेपछि स्पाइनल कर्ड इन्जुरीको समस्या भएका केशव थापाले यो निर्णयले पूर्ण रूपमा परिवारमा आश्रित हुन पर्नेहरूलाई आत्मनिर्भर हुन सकिन्छ भन्ने हौसला प्रदान गरेको प्रतिक्रिया दिए । उनले भने, ‘जीवन निर्वाह गर्नका लागि परिवारमा पूर्णरूपमा आश्रित हुनुपर्नेहरूलाई मासिक भत्ता उपलब्ध गराउने सरकारको निर्णयले आत्मनिर्भर भएर केही गर्न सक्छौँ‚ र जीवन निर्वाह गर्न सक्छौँ भन्ने हौसला प्रदान गरेको छ ।’

सरकारको यो निर्णयले केही गर्नुपर्छ र सकिन्छ भन्ने आशा पलाएको उनले बताए । अर्का स्पाइनल कर्ड इन्जुरीको समस्या भएका ऋषिराम ढकालले राज्यले आफूहरूलाई सहयोग गरेकाले खुसी लागेको बताए ।

‘हामीले राज्यलाई जीवन निर्वाहका लागि आवश्यक सहयोग गर्न पटक-पटक आग्रह गरेका हौँ । यो सरकारले हाम्रो आग्रह सुनेर निर्णय ग‍र्‍यो‚ हामीलाई धेरै नै खुसी लागेको छ‚’ उनले भने । आफूहरूले गृह, अर्थ र स्वास्थ्य राज्यमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको र त्यो ध्यानाकर्षणअनुरूप निर्णय गरेकोमा उनीहरूले सरकारलाई बधाइसमेत दिएका छन् । सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई पनि मासिक पाँच हजार रकम दिने प्रतिष्थापन विधेयक संसद्‌मा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *