सरकारी छाप‚ दस्तखत किर्ते गर्ने पक्राउ

विराटनगर । सरकारी छाप‚ दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई पक्राउ परेका छन् । धरानबाट खटिएको प्रहरी टोलीले महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका- ५ तल्लो देउरालीमा बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई पक्राउ गरेको हो ।

आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भनी प्रलोभन देखाई सर्वसाधरणबाट रकम लिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरीका अनुसार मगरले लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सोबापत मोटो रकम लिएपछि लेनदेन प्रकृतिको कागज बनाएर ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाडौँ लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौँ लेखेको रवरको छाप, गोप्य लेखेको रबरको छाप, जिबछ लामिछानेसमेत लेखेको रबरको छाप बरामद गरेको छ ।

त्यस्तै नेपाल सरकार‚ गृह मन्त्रालय‚ प्रहरी प्रधान कार्यालय काठमाडौँ लेखेको रबरको छाप, प्रहरी निरीक्षक लेखेको रबरको छाप, उपसचिव लेखेको रबरको छाप, राष्ट्रिय वाणिज्य बैंक उल्टो उल्लेख भएको रबरको छाप, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्ट्याम्प पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै कर्मचारीका छापहरू, शाखा अधिकृत लेखेको छापलगायत सोसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *