संसद् बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाराबाजीकै बीच चलेको प्रतिनिधि सभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार (आज) दिउँसो १ बजेबाट शुरु भएको बैठक एमालेकै नाराबाजीका कारण २ पटक स्थगित भएको थियो ।

यसअघि गत २५ गते बसेका बैठकमा आफूहरुले विरोध गर्दागर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएपछि थप आक्रोशित बनेका एमाले सांसदहरूले आज संसद्मा करिब साढे तीन घन्टा नाराबाजी गरेरै बिताए ।

यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले बैठक भने रोकेनन् । शुरुको समयमा आफ्नो ध्यानाकर्षण भएको र एमाले सांसदहरुलाई आ–आफ्नो स्थानमा बस्न रुलिङ्ग गरेका सभामुख सापकोटाले पहिलो स्थगितपछि खुरूखुरू बैठक सञ्चालन गरिरहे, जत्तिबेला एमाले सांसदहरूले ‘संसदीय मर्यादा कामय गर, पार्टी फुटाउन पाइँदैन’लगायतका नारा लगाइरहेका थिए ।

एमाले सांसदहरूको नाराबाजीकै बीच चलेको बैठकले तीन अध्यादेशसमेत स्वीकृत गरेको छ । बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ स्वीकृत गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयकसमेत प्रस्तुत गरेका थिए । अब अर्को बैठक पुनः भदौ २७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *