नेपालको पहिलो डे नाइट वन डे : ब्याटिङ सुधार्नैपर्ने दबाब

काठमाडौँ । ओमान भ्रमणमा रहेको नेपालले विश्व क्रकेट लिग-२ अघि पपुवा न्यूगीनीसँग दोस्रो अभ्यास खेलमा शुक्रबार प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ४:१५ मा अल अमिरात क्रिकेट मैदानमा शुरु हुनेछ । नेपालका लागि टी-२० अन्तरराष्ट्रियमा डे-नाइट खेले पनि एकदिवसीयमा भने यो पहिलो अनुभव हुनेछ ।

पहिलो खेलमा कमजोर प्रदर्शनका बाबजुत २ विकेटको जित निकालेको नेपालको दोस्रो खेलमा पनि ब्याटिङ कस्तो हुने हो भन्ने संशय छ ।

फेरि प्रयोग
महत्वपूर्ण प्रतियोगिताअघि प्रशिक्षक डेभ वाटमोरले नेपाली खेलाडीको अन्तिम परीक्षणको रुपमा समेत यो खेललाई लिएका छन् । जहाँ उनले पहिलो खेलमा मौका नपाएका र मौका पाएर पनि नचलेका खेलाडीलाई परिवर्तन गर्न सक्नेछन् । जसमा पहिलो खेलमा मैदान बाहिर रहेका करण केसी, बिनोद भण्डारी, अविनाश बोहरा र सुशन भारीले आज अवसर पाउने सम्भावना छ ।

यद्यपि करण र अविनाशले अवसर पाउँदा कुन खेलाडी बाहिर राख्ने भन्ने प्रशिक्षकलाई मुस्किल पर्न सक्छ । सोमपाल टीममा कायमै रहने सम्भावना छ भने पीएनजीसँगको अस्तिको खेलमा डेब्यू गरेका विक्रम सोब भने बाहिर राखिन सक्छन् । विकेटकिपर ब्याट्सम्यानका रुपमा रहेका बिनोदले मौका पाए चल्न नसकेको मध्यक्रमबाट कुनै एक खेलाडी बाहिर हुन सक्नेछन् । खुट्टाको चोटका कारण घाइते रहेका दिपेन्द्रसिंह ऐरी आज पनि नहुने सम्भावना छ ।

सुध्रिएला ब्याटिङ ?
पहिलो अभ्यास खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको पीएनजीलाई नेपाली बलरले अपेक्षीत रुपमा नै कमजोर योगफलमा समेटे । बलरले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेपनि ब्याटिङको समस्या भने सुध्रिएन । १३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४६ रनको राम्रो साझेदारी गर्दै टीमलाई गतिलो सुरूवात दिए‚ तर दुवैको विकेट झरेपछि सुरु भएको नेपालको समस्याले नेपाललाई दबाबमा पुर्‍याएको थियो । पहिलो खेलमा सोमपाल र रोहित टिक्नाले नेपालले जीत हात पार्न सफल भयो ।

मध्यक्रममा अनुभवी ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ शेख, कुशल मल्ल र पवन सर्राफ टिक्न नसक्दा नेपाललाई दबाब थपिएको थियो । एक समय ४६-१ मा रहेको नेपाल त्यसपछि ८२-७ को अवस्थामा पुगेको थियो । तर हारको संघारबाट नेपाललाई रोहित पौडेलले ४१ तथा सोमपाल कामीले २२ रन बनाएर जोगाएका थिए ।

समग्रमा परम्परागत समस्यामा सुधार नहुँदा त्रिकोणात्मक सिरीजमा मुस्कील बढ्नेछ । त्यसैले दोस्रो खेलमा पहिलो खेलको ब्याटिङको गल्ती सच्याउने चुनौती नेपाली खेलाडीसामु हुनेछ । आजको खेलमा पनि ब्याटिङ् लड्खडाए त्यसको असर नेपालले त्रिकोणात्मक सिरिजमा व्यहोर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *