देउवालाई पौडेलले भने- निर्वाचनलाई धाँधलीरहित बनाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निर्वाचनलाई धाँधलीरहित बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बिहीबार (हिजो) साँझ निर्वाचन समिति संयोजक महादेव यादवले राजीनामा दिएपछि पौडेलले सभापति देउवालाई पार्टी निर्वाचन धाँधलीरहित बनाउन आग्रह गरेका हुन् ।

‘मेरो नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले आज बिहान सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्यौँ । सो अवसरमा पार्टीका क्रियाशील सदस्यहरुको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको प्रहरी प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ,’ पौडेलले फेसबूकमार्फत भनेका छन् ।

क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ । जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।

असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *