गगन र विश्वप्रकाश दुवै बन्लान् महामन्त्री ?

काठमाडौँ । नेपाली कांग्रेसका चर्चित दुई युवा अनुहार हुन् गगन थापा र विश्वप्रकाश शर्मा । अहिले पार्टी प्रवक्ता र यसअघि नेविसंघको अध्यक्ष भइसकेका शर्मा र नेविसंघको महामन्त्री हुँदै सांसद र मन्त्री भइसकेका थापालाई ‘कांग्रेसको भावी अनुहार’ मान्नेहरू धेरै छन् । हुन पनि अघिल्लो पुस्ताको पट्यारलाग्दो राजनीतिले वाक्क बनाएका बेला विश्वप्रकाश र गगनको टिमले पार्टी हाँक्ने अवस्था आए कांग्रेसलाई मात्र राम्रो होइन‚ एमाले‚ माओवादी लगायतका दलमा पनि पुस्तान्तरणको चर्को दबाब पर्ने र पार्टीहरूको आन्तरिक जीवनमा रुपान्तरण ल्याउने आशा गर्नेहरू धेरै छन् ।

गगन र विश्वप्रकाशको उम्मेदवारीले कांग्रेसको महाधिवेशनको सन्दर्भमा नयाँ तरङ्ग ल्याएको छ ।

त्यसो त दलहरूभित्र पुस्तान्तरणको कुरा उठेको अहिले होइन । तर यो कति गाह्रो छ भन्ने कुरा यहि घानमा परेका भुक्तभोगीहरूले मात्र बुझ्न सक्ने नेताहरू बताउँछन् । हुन पनि कांग्रेसकै कुरा गर्दा गगन-विश्वप्रकाशको पुस्ता कांग्रेसको चौथो पुस्तामा पर्छ । यो पुस्ता ५० नाघिसकेको छ । अहिले महामन्त्रीका लागि उम्मेदवारी दिइरहेको यो पुस्ताले कांग्रेसको नेतृत्वमा पुग्न अझै कति वर्ष बिताउनुपर्ने हो‚ यसै भन्न सकिने अवस्था छैन । त्यसैकारण पनि उनीहरुलाई रोक्न उनीहरूअगाडिका सबै पुस्ताले सक्दो कोसिस गर्नेछ । यसपटक उनीहरूले महामन्त्री जिते भने निश्चित छ कि उनीहरू अर्को महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नेछन् । र‚ त्यसो हुँदा अहिले उनीहरूका ‘दाइ’ पुस्ताका नेताहरू घोषणै नगरी रिटायर्ड हुने अवस्था आउनेछ ।

गगन र विश्वप्रकाशका सजिला-अप्ठ्यारा
अहिलेसम्मको विधानको व्यवस्थाअनुसार कांग्रेसमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुनेछन् । यसपटकदेखि सभापतिले मनोनयन गर्ने महामन्त्रीको कोटाको साटो दुवै महामन्त्री चुनावबाटै चुनिने प्रावधान राखिएको छ । तर‚ धेरैवटा गुट हुने देखिएको कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार त्यसको दोब्बर हुनेछन् । जसमध्ये दुईजना चुनिनेछन् । त्यसो हुँदा गुट, भेग, पुस्ता, नाराजस्ता धेरै कुरा मिलाउँदा चुनिने २ जना नेता को हुन्छन्‚ अहिल्यै आकलन गरिहाल्न सकिँदैन । कम्तीमा टिमकै उम्मेदवार तय भइसकेपछि र मैदानमा कति टिम हुन्छन् भन्ने तय भइसकेपछि भने एकखालको चित्र आउनेछ ।

गगनको योजना र तयारी
अघिल्लोपटक पनि महामन्त्रीमा उम्मेद्वारी दिएका गगन थापाले यसपटक पनि सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका हुन् । उनले सभापतिमा कसलाई समर्थन गर्ने भन्ने तय हुन बाँकी रहेको‚ तर महामन्त्रीको उम्मेदवार भने आफू नै रहेको बताइसकेका छन् । उनले वर्तमान संस्थापन पक्ष इतरको भेलामा उपस्थिति जनाएर आफू देउवाबाहेकको समूहमा रहेको सन्देश त दिएका छन्‚ तर संस्थापन इतरबाट अहिलेसम्म पाँचजनाले सभापतिमा उम्मेदवारी दाबी गरिरहेकाले तीमध्ये गगनले कसलाई छान्ने भन्नेबारे भने उनलाई पनि हम्मे हम्मे हुनेछ । यसअघि कृष्ण सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका उनी सिटौलाको टिमबाट बाहिरिने चर्चाहरू पनि भइरहेका छन् ।

हुन त सभापति देउवाइतरबाट एकजना मात्र सभापतिको उम्मेदवार बनाउने दाबीले सार्थक रुप पाएमा भने यो अन्यौल हट्ने छ । गगनलाई संस्थापनबाहेकका हरेक समूहमा महामन्त्रीको उम्मेदवारका रुपमा लैजान तानातान हुने पक्कापक्कीजस्तै छ । अघिल्लो पटक पनि महामन्त्रीमा उम्मेदवार बनेर उनले एकखालको ग्राउन्ड तयार पारेका छन् । त्यसले पनि उनलाई सहयोग गर्नेछ । गगनलाई अर्को सजिलो के छ भने देउवा इतरको समूहमा महामन्त्रीका धेरै आकांक्षी छैनन्‚ जति देउवाको समूहमा छन् ।

विश्वप्रकाशको योजना र सकस
पार्टी प्रवक्तामा नियुक्त भएपछि विश्वप्रकाश शर्मा सभापति देउवाको पक्षमा आम मानिसले थाहा पाउने गरी खुलेका हुन् । तर यसपटकको महाधिवेशनमा उनलाई देउवाको टिममा पर्न सकस रहेको देउवा निकट नेताहरू नै बताउँछन् । कारण हो‚ महामन्त्रीका आकांक्षी धेरै हुनु । यसैकारण पनि हुन सक्छ उनले टिमले घोषणा नगरी व्यक्तिगत रुपमै महामन्त्रीको उम्मेदवारी घोषणा गरिहालेका छन् ।

सभापति देउवा पक्षमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, रमेश लेखक, प्रकाशशरण महत, एनपी साउद लगायतका नेता महामन्त्रीका आकांक्षी छन् । उनीहरू सबै शर्माभन्दा ‘वरिष्ठ’ हुन् । यस्तोमा शर्माले दाइहरूलाई फेरि पनि पालो छाड्नुपर्ने आग्रहको सामना गर्नुपर्ने हुन सक्छ । तर अघिल्लो पटक पदाधिकारीमा उम्मेदवारी नदिनाले नै पछि परेको महसुस गरिसकेका शर्मा फेरि पनि त्यो गल्ति दोहोर्‍याउन चाहँदैनन् भन्नेउनको उम्मेदवारीले देखाउँछ । त्यसैकारण पनि उनी ‘टिम बन्दै गर्ला‚ म उम्मेदवारी घोषणाचाहिँ गरिहाल्छु’ भन्ने निर्णयमा पुगेको हुनसक्छ ।

त्यसो त शर्मा युवामाझ सर्वाधिक लोकप्रियमध्येका र आशा गरिएका युवा नेता भएकाले शर्मालाई टिममा पार्न सभापतिका उम्मेदवारहरूले पक्कै चाहनेछन् नै । देउवाले नसमेटे उनी विमलेन्द्र निधिसँग नजिक हुन सक्छन् । निधीले सभापतिको उम्मेदवार बन्ने तयारी थालिसकेका छन् । शर्मालाई महामन्त्रीको उम्मेदवारका रुपमा आफ्नो टिममा ल्याउन सके निधी पनि बलियो बन्नेछन् ।

विश्वप्रकाशलाई कांग्रेसको भावी सभापतिका रुपमा हेर्न चाहनेहरू पनि धेरै छन् । उनीहरू पार्टी शर्माले र सरकार थापाले हाँक्नुपर्ने बताउँछन् । यसको केही फाइदा शर्मालाई हुन सक्छ ।

आपसी प्रतिस्पर्धा
शर्मा र थापा पार्टीभित्रका दुई युवा तथा लोकप्रिय नेता भएपनि स्वभाविक रुपमा उनीहरूबीच आन्तरिक प्रतिस्पर्धाको अवस्था पनि छ । महामन्त्रीको पद सभापतिका लागि आधारभूमी तय गर्ने पद पनि भएकाले त्यसमा उनीहरूले आफूमात्र जित्ने र अर्कोलाई हराउने रणनीति बनाउन सक्छन् । त्यसका साथै कुनै न कुनै गुटको आधिकारिक उम्मेदवार हुनैपर्ने भएकाले ‘फ्लोर क्रस’ गराएर ‘एक मत मलाई‚ अर्को तिमीलाई’ गराउने सम्भावना पनि कममात्र रहन्छ ।

पेशागत निर्वाचनमै गुट वा संगठनको नाममा आँखा चिम्लेर रेजा लगाउने चलन हावी भएका बेला पार्टीको आन्तरिक चुनावमा गुट हावी नहुने कुरै हुँदैन । तर, महाधिवेशनको निर्णायक भनेको महाधिवेशन प्रतिनिधिहरू हुन् । महाधिवेशन प्रतिनिधिले आफ्नो गुट भन्ने कुरामात्र हेरेनन्‚ र गुटको लिस्टमा रहेका उम्मेद्वारलाई मत दिने ‘यन्त्रमानव’ जस्तो बनेनन् भने उनीहरूले फरक–फरक गुटका उम्मेदवारलाई पनि मत दिन भने सक्नेछन् । ‘दलको आन्तरिक प्रतिस्पर्धा त हो नि‚ यसमा किन गुट हेर्ने‚’ भन्ने सोचबाट महाधिवेशन प्रतिनिधि अघि बढे भने दुवैजना महामन्त्री बन्ने सम्भावना पनि रहन्छ । यसलाई कुन गुटले जित्ने र हार्ने भन्ने ‘ईगो’का पिछलग्गुमात्र बनाइएको अवस्थामा कुनै एकजनाले मात्र जित्न वा एकैजनाले नजित्न पनि सक्छन् ।

महामन्त्रीका बाँकी उम्मेदवार घोषणा हुन बाँकी नै छन् । कुन कुन टिमबाट को को उम्मेदवार बन्ने हुन् भन्ने तय भइनसके पनि अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीको उम्मेदवार बन्ने बताएका छन् ।

जे होस्‚ कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको भिडन्त रोचक हुने भने पक्कापक्की छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *