उम्मेदवारीको घोषणा गर्दै शर्मा भन्छन्ः

‘बीपीको संकल्पबमोजिम देशकै नेतृत्व गर्नेगरी बढ्दैछु’

काठमाडौँ । आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू सधैं बीपी कोइरालाको सपना र संकल्पप्रति समर्पित भएको बताएका छन् । बिहीबार (आज) सुन्दरीजल पुगेर उम्मेदवारीको घोषणा गरेका शर्माले भने, ‘बीपी कोइराला, गणेशमान सिंहजी, किसुनजीलगायतलाई ८/८ वर्ष तत्कालीन राजसत्ताले बन्दी बनायो । तर, उहाँहरुको विचार बन्दी हुन पाएन । आज उहाँहरुकै विचारले मुलुकमा नेतृत्व गरिरहेको छ । उहाँहरुको विचारलाई अहिलेको कांग्रेसले, अहिलेको देशले र अहिलेको समाजले ग्रहण गर्नुपर्छ ।’

आफूसहितका युवाहरुमा बीपी, सिंह र किसुनजीलगायतका विचारलाई अझ स्थापित गर्नुपर्ने उत्तरदायित्व भएको औंल्याउँदै शर्माले थपे, ‘मैले अहिले नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गरेको छु । अब आउँदो महाधिवेशनतिर अन्य नेतृत्व पुगेर सिङ्गो देशको नेतृत्व गर्ने संकल्प छ । बीपीको संकल्पबमोजिम यो पाइला अघि बढाएको हुँ ।’

अहिलेसम्म महामन्त्री पदको लागि नेता गगनकुमार थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रदीप पौडेलले पनि महामन्त्री पदको लागि उम्मेदवारी घोषणा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *