तालिबान सरकारलाई चीनको समर्थन‚ तीन करोड अमेरिकी डलर सहयोग

काठमाडौँ । चीनले अफगानिस्तानमा बनेको नयाँ तालिबान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिबान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।

चीनले तालिबान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने समेत जनाएको छ ।

चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिबानलाई प्रारम्भिक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिनअघि अन्तरिम सरकार गठन भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताए ।

उनले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालीन सहयोगको रुपमा व्याख्या गरेका छन् । सहयोगअन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधिजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिए ।

तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए भने उनको सरकारले हात उठाएको थियो ।

घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकाले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले त अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसकेका छन् । तर‚ खोप कहिले उपलब्ध हुन्छ भन्ने यकीन हुन भने बाँकी नै रहेको बताइएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *