ओलीको जन्मस्थल आठराई गाउँपालिका अध्यक्ष लिम्बु नेकपा (एस)मा

माधव नेपाल टाढैबाट देखेको राजाजस्तो मात्र

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थल तेह्रथुमको आठराईका अध्यक्षले नै नेकपा एमाले छोडेर नयाँ दल नेकपा एकीकृत समाजबादी रोजेका छन् । पार्टीमा विष्णुविक्रम सुब्बाको नामबाट चिनिएका तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले नेकपा एमाले छाडेर नेकपा (एकिकृत समाजवादी)मा सनाखत गरेका हुन् ।

दशौँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार भएका राई गुटकै कारण पराजित भएका थिए । ओलीका विश्वासिला पात्रमध्येका एक लिम्बुले ओली समूहबाट नै राजनीति गर्दै आएका थिए । केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेलामा समेत ओली समूहमा रहेर ओलीलाई साथ दिएका लिम्बुले सनाखत गरिसक्नुपर्ने अन्तिम दिन मंगलबार  पार्टी परिवर्तन गरेका हुन् ।

यसलाई नेकपा एमाले र नेकपा (एस) कै नेतालाई पनि आश्चयर्यमा पारेको छ । आफ्ना लागि नेकपा एसका अध्यक्ष माधव नेपाल टाढैबाट देखेकाे राजाजस्ताे मात्र भएपनि इमान्दार नेताहरु नेकपा एसमा देखेकाले यता लागेको बताए ।

‘म माधव लाइनको मान्छे होइन, कम्युनिस्ट कार्यकर्ता हो,’ उनले मकालुखबरसँग भने, ‘कम्युनिस्ट पार्टी भनेको विचारको नेतृत्व गर्ने भएकाले केही इमान्दारजस्ता देखिने नेताहरू त्यता देखेर कम्युनिस्टमध्येको एउटा पार्टी रोजेको हो ।’ लिम्बुले अहिलेसम्म माधव नेपालसँग जम्मा एक पटक मात्र देखादेख भएको सुनाए ।

‘मेरा लागि माधव नेपाल एक पटक टाढाबाट देखेको राजाजस्तै हो,’ लिम्बुले भने, ‘ओली नेतृत्वको कम्युनिष्ट पार्टीमा काम गर्ने तरिका ठिक लागेन, त्यही भएर उता खुलेको हो ।’ लिम्बुले नेकपा एसमा खुलेपनि लामो समय उतै बस्ने भन्ने नरहेको बताएका छन् । ‘पार्टी संगठन भनेको विचारको नेतृत्व गर्ने संगठन हो, पार्टीभित्र आलोचना, आत्मालोचना गर्ने अवसर किन पाइएन भन्ने मेरो प्रश्न हो,’ लिम्बुले भने, ‘कार्यशैलीगत प्रश्नमा म सन्तुष्ट थिइनँ, ओलीले गुण्डाहरू फटाहाहरूको संरक्षण गर्ने‚ तर बौद्धिक मान्छे र ईमान्दार मान्छेलाई बेवास्ताजस्ता कार्यशैलीगत प्रश्न उठ्दा खराबमध्येको कम खराब मान्छेको पक्षमा लागौँ न त भनेर हो ।’

उनले माधव नेपालको पछि लागेकाहरू तुलनात्मक रुपमा अलिक ठिक खालका छन् भन्ने मात्र लागेको भएपनि त्यसभित्र पनि सबै राम्रा नभएको दाबी गरे । नेकपा एमाले छाडेर जानुपर्दा पीर परेको सुनाउँदै लिम्बुले भने, ‘बाउ मर्दा छोरो रुँदैन र ? यो अहिलेको पार्टी फुट्नु भनेको बाबुआमा मरेको जस्तो मैले महसुस गरेको छु ।’

तेह्थुममा जम्मा २ जना जनप्रतिनिधिले मात्र नेकपा एसका पक्षमा सनाखत गरेका छन् । जसमा गाउँपालिका अध्यक्ष लिम्बु र मेन्छ्यायेम गाउँपालिकाका वडा अध्यक्ष शिवराज खापुङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *