यी हुन् तालिवान सरकारका ‘छायाँ प्रमुख’ मानिएका बरादर

गत अगस्ट १५ मा काबुल प्रवेश गरेका तालिबानले मंगलबार नयाँ सरकार घोषणा गरेका छन् । तालिवानको सरकार घोषणा गर्नुअघि नै अफगानिस्तानको नाम साबिकको ‘इस्लामिक गणतन्त्र’बाट ‘इस्लामिक इमिरेट’ बनाइएको छ ।

मुलतः तालिबानको धार्मिक सत्ता हुनेछ । धार्मिक सत्तामा सर्वोच्च नेता हुनेछन् हाइबातुल्ला आखुन्जादा । तर, सरकारको दैनिक काम भने मंगलबार घोषणा गरिएको सरकारले गर्नेछ ।

तालिबानले सरकार प्रमुखको रुपमा हेरिएका मुल्लाह अब्दुल घानी बरादरको नेतृत्वमा नभई मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा सरकार गठन गरेको छ ।

विश्वका शक्ति राष्ट्रसँग बरादरले गरेको उच्चस्तरीय भेटघाटदेखि तालिबानको राजनीतिक ब्यूरो प्रमुख समेत रहेकाले उनकै नेतृत्वमा सरकार गठन हुने ठानिएको थियो । तालिबानका संस्थापकमध्येका एक बरादर पछिल्लो २० वर्षमा अमेरिकी उपस्थिति रहेको अफगानिस्तानमा तालिबानका सैन्य कमान्डर पनि थिए ।

सरकार गठन उनको नेतृत्वमा नभएपनि उनी सरकारको छायाँ प्रमुखको रुपमा रहने अनुमान गरिएको छ ।

बरादर र उनका बहिनी-ज्वाइँले खोलेको तालिबान
सन् १९६८ अफगानिस्तानको उरुसगान प्रान्तमा जन्मिएका बरादर सोभियत संघसँग लड्न बनेको इस्लामिक दस्ता मुजाहिद्धिनका एक सदस्य हुन् । उनले सन् १९८९ मा सोभियत संघ अफगानिस्तानबाट दशक लामो बसाइ सकेर फर्किएपछि अफगानिस्तानमा तीन वर्षपछि गृहयुद्ध शुरु भयो । त्यही मौकामा बरादरले कन्दहारमा एक मदरसा खोले । मदरसामा बहिनी ज्वाइँ मोहम्मद ओमरसँग मिलेर सन् १९९४ मा उनैले तालिबान खोलेका थिए ।

तालिबान खोलेको दुई वर्षमै सत्तामा पुग्यो । तालिबान सत्तामा हुँदा पाकिस्तान, युएई र साउदी अरेबियाले मात्रै मान्यता दिएका थिए । बरादरले विश्वका विभिन्न शक्ति राष्ट्रसँग त्यही समयमा वार्ता गरेर मान्यताको पहल गरेका थिए । उनको कूटनीतिक प्रयोग त्यहिँबाट भएको मानिन्छ । जसलाई उनले अहिले राम्रोसँग प्रयोग गरिरहेका छन् । तालिबानको शैली पनि परिवर्तन भएको छ । पत्रकार सम्मेलन गर्ने, विदेशी तथा स्वेदेशी मिडियामा अन्तरवार्ता दिने, इस्लामिक कानूनमा रहेर महिलालाई पढ्न र जागिर गर्न दिनेजस्ता सहजता बरादरकै राजनीतिक नेतृत्वमा आएको छ ।

अमेरिकाले पारेको प्रतिकुल र अनुकूल अवस्था
सत्तामा पाँच वर्ष बसेका तालिबानलाई सन् २००१ अक्टोबर ७ बाट अमेरिकाले बल प्रयोग गर्‍यो । २०१० को फेब्रुअरीमा बरादरलाई पाकिस्तानले कराँचीमा पक्राउ गर्‍यो । बरादर पक्राउ परेको अर्को वर्ष नै लादेनलाई पाकिस्तानको एबोट्टावादमा अमेरिकी सैन्य टोलीले हत्या गर्‍यो । त्यसको दुई वर्षपछि सन् २०१३ मा तलिबानका अर्का संस्थापक मोहम्मद ओमर ड्रोन हमलाबाट मारिए ।

सन् २०१८ मा आएर कथा मोडियो । अमेरिकी गुप्तचरको सूचनाले पक्राउ परेका बरादरलाई रिहाइ गर्न अमेरिकाले नै पाकिस्तानलाई आग्रह गर्‍यो । पाकिस्तानले रिहाइ गर्‍यो । तालिबानसँग निर्णायक वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा बरादर रिहा भए । उनी रिहाइ भएसँगै दोहामा रहेको तालिबान कार्यालयमार्फत वार्ताहरू शुरु हुन थाले । सन् २००१ बाट निस्किएका उनी दुई दशकपछि मात्रै यहि वर्ष अफगानिस्तानमा फर्किएका हुन् । फर्कँदा उनी काबुल नओर्लिएर कन्दहार ओर्लिएका थिए ।

With new Afghan govt on cards, Taliban's co-founder Baradar reaches Kabul, South Asia News | wionews.com

यसैक्रममा सन् २०२० मा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बरादरको भेट भयो । सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र तालिबानबीच शान्ति सम्झौता भयो । सम्झौतापछि अमेरिकी सैन्य पोस्टहरूमा तालिबानी आक्रमण रोकियो । तालिबानलाई पनि अमेरिकाले हमला गर्न छाड्यो । सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ताको सम्झौताभन्दा अगाडि बाइडेन आएपछि अगस्ट ३१ मा अमेरिका पूर्णरुपमा अफगानिस्तानबाट फर्कियो । त्योभन्दा १७ दिन अगाडिबाटै तालिवानले काबुल कब्जा गरेको थियो । अफगान राष्ट्रपति देश छोडेर भागेका र अफगान सेनाले युद्ध गर्न चासो नदेखाएपछि तालिवानको सहज जित भयो । तर, अन्य अतिवादी इस्लामिक समूहहरूलाई शरण भने नदिने तालिबानले अमेरिकालाई वचन दिएको छ ।

काबुल कब्जा गर्न सहज भएपछि सत्ता बनाउन भने तालिबानलाई निकै असहज भयो । त्यहि भएर सत्ता कब्जाको महिना दिन पुग्न लाग्दा बल्ल तालिबानले सरकार घोषणा गर्न सक्यो । अप्रत्याशित रुपमा सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गरे पनि बरादर छायाँ सरकार प्रमुखका रुपमा रहने अनुमान भइरहेको छ । सरकारकै नेतृत्व गर्ने ठानिएका बरादरको ठाउँमा अखुन्दलाई किन ल्याइयो भन्नेबारे भने विस्तृत विवरणहरू आइसकेका छैनन् ।

(अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *