पहिलो बैठक नै चल्न नदिने एमालेको तयारी, १४ जना सांसदबारे प्रश्न उठाउने

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले ‘कारबाही गरेका’ १४ जना सांसदका बारेमा आजको बैठकको शुरुमै प्रश्न उठाउने भएको छ ।

आज बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीले कारबाही गरेका १४ सांसदका बारेमा संसदमा कुरा उठाउने जानकारी गराएका हुन् ।

ओलीले भने‚ ‘हामीले कारबाही गरेका सांसदहरू बैठकमा उपस्थित भए‚ कसरी बैठक चल्न दिन सकिन्छ ?’

यो पनि : सहज चल्न नदिने विपक्षी रणनीति, अवरोध भए बहुमत पुर्‍याउने सत्ता पक्षको तयारी

एमाले सांसदहरूका अनुसार बैठकको शुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त भएको पत्र पढेर सुनाउनासाथ वा त्यसअघि नै यो विषयमा सभामुखको जवाफ माग्ने तयारी छ ।

पार्टीले कारबाही गरी सभामुखसमक्ष पठाएका १४ जना सांसद नयाँ दल नेकपा एकीकृत समाजवादीका सांसदका रुपमा संसद बैठकमा उपस्थित हुनेछन् ।

एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले निर्णय नगरेर अर्को दल खोलेर जान सहज अवस्था बनाएको आरोप लगाउँदै एमालेले सभामुख सापकोटाको पनि चर्को आलोचना गर्दै आएको छ ।

यहि विषय उठाएर आजको बैठक बस्न नदिने एमालेको तयारी रहेको एमाले सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *