एमसीसीको प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र चल्दैछ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । ‘यो गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

बुधबार (आज) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुनेगरी एमसीसीको समाधान गर्न चाहेको बताए । ‘एमसीसीको समाधान चाहिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘देश र जनतालाई क्षति नपुग्नेगरी यसको समाधान हुनुपर्छ ।’

प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने र माओवादीहरुलाई घेरा हालेर सिध्याउने षड्यन्त्रमा कुनै वर्ग लागेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

‘रूपान्तरण नहुने र क्रान्ति नगर्ने हो भने माओवादी विघटन गरौँ’

अध्यक्ष प्रचण्डले सजिलै पार्टीका नेता/कार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको समेत बताएका छन् ।

अल्लि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र ?,’ प्रचण्डको प्रश्न थियो, ‘बरू योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ ।’

आफूले यसो भनेर निराशा बाँड्न भने नखोजेको उनले बताए । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौँ भन्ने हो । गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त, जानुभयो त हाम्रा केही साथीहरू ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *