कोरोना सारेको कसुरमा यी युवकलाई ५ वर्ष जेल

काठमाडाैँ । भियतनाममा कोभिड-१९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा एक व्यक्तिलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ ।

ले भान ट्री नाम गरेका ती युवकले आठ जनालाई खतरनाक सङ्क्रामक रोग सारेको एउटा अदालतले ठहर गरेको हो । ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ । केही समयअघिसम्म भियतनाममा कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्धहरू सफलतापूर्वक लागु गरिएको थियो ।

तर जुन महिनादेखि अतिसङ्क्रामक मानिएको डेल्टा भेरिअन्टका कारण त्यहाँ कोभिड तीव्र गतिमा फैलियो । भियतनाममा पाँच लाख ३० हजार जनाभन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भइसकेका छन्। तीमध्ये १३,३०० जनाको मृत्यु भएको तथ्याङ्क छ । अधिकांश सङ्क्रमितहरू राजधानी हो चि मिन्ह सिटीमा फेला परेका हुन् ।

जुलाईमा २८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ । सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो । अनि उनले आइसोलेशनसम्बन्धी नियम पनि पालना नगरेको पाइयो ।

स्थानीय निकायले त्यतिबेला अरू प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरूबाट अलग्गिएर बस्नुपर्ने नियम लागु गरेको थियो । ट्रीलाई पछि कोभिड भएको पुष्टि भयो । उनीबाटै उनको परिवारका अरू सदस्य र उनले भ्रमण गरेको एउटा कल्याणकारी संस्थाका कर्मचारीलाई कोरोनाभाइरस सरेको पाइयो । एकदिने सुनुवाइपछि उनलाई जेल पठाइएको छ भने ८०० डलरबराबर जरिबाना तिराइएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *