अफगानिस्तानमा तालिबानले घोषणा गर्‍यो सरकार

मुल्लाह मोहम्मद हसन अखुन्द बने अन्तरिम सरकारका प्रधानमन्त्री

काठमाडाैँ । तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ । समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् ।

उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले भने, ‘हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता सरकारका लागि प्रतीक्षारत छन् ।’ अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन् । उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।

   अफगानिस्तानका अन्तरिम सरकारको प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्द । फाइल तस्बिर: एफपी ।

मन्त्रिपरिषद्‌ गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् जो हक्कानी सञ्जालका प्रमुख पनि हुन् । समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन् ।

तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नु हुनेछ । केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए । राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए । –बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *