आजदेखि संसद् अधिवेशन

सहज चल्न नदिने विपक्षी रणनीति, अवरोध भए बहुमत पुर्‍याउने सत्ता पक्षको तयारी

काठमाडौँ । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ । संसद् बैठकको तयारीका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सांसदहरूसँग छलफल गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि आन्तरिक तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी पनि आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु (कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनता पार्टी) को एकखाले तयारी छ भने प्रमुख प्रतिपक्षी नेकपा एमालेको आफ्नै ढङ्गको तयारी छ ।

सत्तारुढ गठबन्धनको तयारी सदन सुरु भएकै दिन वा भोलिपल्ट बजेट अध्यादेश स्वीकृत गराउन आवश्यक संशोधनसहित प्रतिस्थापन विधेयक पेश गर्ने तयारी छ । तर, प्रतिस्थापन विधेयक समयमै (भदौ ३० गतेभित्र) पास गर्न नियमावली निलम्बन गर्नुपर्छ । नियमावली निलम्बन गर्ने लगायतका विषयमा साथ नदिने एमालेको राणनीति छ ।

‘नियमावली निलम्बन गर्ने कुरामा अघिल्लो सरकारले ल्याएको बजेट जस्ताको तस्तै पारित हुने भयो भने हामीलाई नैतिक संकट पर्छ । अन्यथा नियमावली निलम्बन गर्ने कुरामा एमालेको साथ रहन्न‚’ एमाले सांसद सूर्य पाठकले भने । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफू राजधानी बाहिर भएपनि सरकारले बजेट पास गर्न नियमावली निलम्बन गर्नेजस्ता विषयमा एमालेसँग औपचारिक छलफल गरेको मेरो जानकारीमा नभएको र औपचारिक छलफल गरे आफ्ना कुरा राख्ने बताए ।

तर, सदनलाई सहज रुपमा चलाउने प्रयासमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँंग छलफल गरिरहेको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् । ‘बजेटलगायतका महत्वपूर्ण विषयलाई अगाडि बढाउनुपर्नेछ । यसका लागि सदन सहज ढङ्गले चल्नुपर्नेहुन्छ । सदनलाई सहज रुपमा चलाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको छ‚’ उनले भनिन् ।

तथापि, सार्वजनिक रुपमा एमालेका नेताहरूले सदनलाई चल्न नदिने भनिरहेको आफूहरूको जानकारीमा रहेको भन्दै उनले सदनलाई चल्नै नदिने रणनीति एमालेले अख्तियार गरेको खण्डमा के गर्ने ? भन्ने विषयमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका बीचमा छलफल भइरहेको जानकारी दिइन् ।

‘बजेटजस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने कार्य भयो भने त्यो जिम्मेवार प्रतिपक्षको भूमिका हो भन्ने ठहरिँदैन । त्यस्तो केही गरी संसदमा भयो भने लोकतान्त्रिक प्रक्रिया (बहुमत)का आधारमा निर्णय (नियमावली निलम्बन) गरेर जानुपर्ने हुन सक्छ । यसतर्फ पनि हाम्रो (सत्तागठबन्धन) को तयारी छ‚’ उनले भनिन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि सदन चलाउन जे गर्दा सहज हुन्छ त्यहि गरिने बताउँछन् । ‘सदन चलाउन भनेरै लडाइँ लडेर आएको हो । त्यसकारण सदनमा अवरोध होला‚ के होला भन्नेभन्दा पनि हाम्रो ध्यान जे गर्दा सदन चल्छ त्यहि गर्नेमा हुन्छ‚’ गुरुङले थपे, ‘कन्टेन्टमा विमति प्रतिपक्षी दलहरूको हुन सक्छ । तर, सदनै चल्न दिन्न भन्ने त हुँदैन । त्यस्तो भयो भने आवश्यकताअनुसार जे गर्नुपर्छ‚ त्यहि गर्छौ।’ ‍

यस्ता छन् सम्भावित कार्यसूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *