माधव नेपाल कुपात्र हुन्, पतन भइसके : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको नेतृत्व गरेर माधवकुमार नेपालले एमाले सरकार प्रतिगामीको पाउमा चढाएको आरोप लगाएका छन् ।

पोखरामा मंगलबार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलेको भन्दै नेपाललाई एमालेको कुपात्रको संज्ञा दिएका हुन् । ‘कहिलेकहिले कोही-कोही मान्छे नराम्ररी बिग्रन्छन् । एउटा कुपुत्र जन्मियो भने कुल नै बर्बाद हुन्छ । तपाईंहरुले कहिल्यै माधव नेपालले राजनीतिको कुरा गरेको देख्नुभयो ?’ उनले भने, ‘उहाँले मलाई सम्मान पुगेन मात्रै भन्नुभयो । माधव नेपाल बिग्रेको मात्रै होइन, पतन नै भइसके । माधव नेपालबिनाको एमाले अब राम्ररी अगाडि बढ्छ ।’

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र नेपालले पार्टी नै कब्जा गर्न खोजेको भन्दै कार्यकर्ताको चेतना र मशाल आन्दोलनका कारण एमाले जोगिएको बताए । ‘त्यहि पार्टीमा बस्ने‚ त्यहि पार्टीको अध्यक्षको पुत्ला जलाउने । त्यहि पार्टीको प्रधानमन्त्रीको पुत्ला जलाउने । पार्टी कब्जा गर्न खोज्ने,’ उनले थपे, ‘प्रचण्ड र माधव नेपालले कब्जा गर्न खोज्दैमा एमाले कब्जा हुँदैन । एमालेका नेता कार्यकर्ताहरू सचेत छन् । उनीहरू मशाल लिएर निस्किए ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अफगानस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्न नसकेको भन्दै जनताका लागि यो सरकारले केहि काम नगर्ने आरोप लगाए । सिधै विद्रोही तालिवानसँग फोन गरेर आफ्ना नागरिकको उद्धार गर्न उनको आग्रह छ ।

एमाले २०७५ जेठ २ मा जस्ताको त्यस्तै फर्किन नसक्ने ओलीले दोहो‍र्‍याए । १० बुँदे सहमति विवादको समाधानका लागि भएको भन्दै उनले पहिलेकै अवस्थामा हुबहु फर्किन असम्भव रहेको सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *