काठमाडौँ उपत्यकामा भारी वर्षाको सम्भावना कायमै

काठमाडौँ । काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना अझै पनि कायमै रहेको मौसमविद्ले बताएका छन् । सोमबार दिउँसोपख मौसममा केही सुधार देखिए पनि साँझ फेरि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

बंगालको खाडीबाट आएको जलवाष्प स्थानीय वायुमा मिसिँदा अचानक भारी वर्षा भएको र यो सम्भावना कायमै रहेको उनले बताए ।

सोमबार काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा तथा मंगलबार लुम्बिनी गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना रहेको उनले बताए । बुधबारबाट भने मौसममा सुधार आउने सम्भावना रहेको पनि मौसमविद् अर्यालले जानकारी दिए ।

बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आइतबार रातिको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ ।

काठमाडौँ उपत्यका भएर बग्ने बागमती, मनोहरा, धोबीखोला, हनुमन्तेलगायत खोलामा आएको बाढीले नदी किनारका बस्ती र व्यवसाय पनि डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *