कांग्रेस जिल्ला सभापतिहरुको आरोपः

‘वैधानिक रूपमा कांग्रेस कब्जा गर्ने प्रयास हुँदैछ’

काठमाडौं । तीन दिनदेखि पार्टी कार्यालय, सानेपामा रिले अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरुले पार्टीलाई वैधानिक रूपमा कब्जा गर्न खोजिएको बताएका छन् । ‘महाधिवेशनको पहिलो प्राथमिकता भनेको क्रियाशील सदस्यता सार्वजनिक गर्नु हुनुपर्ने हो,’ सभापतिहरुको नेतृत्व गर्दै नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसीले भने, ‘त्यो नै गरिएको छैन । हामी आमकांग्रेसीको लागि लडिरहेका छौँ । कांग्रेसलाई वैधानिक तरिकाले कब्जा गर्न खोजिएको छ । यो प्रयास हुँदैछ । तर, हामी कुनै पनि प्रकारले कब्जा गर्न दिँदैनौँ ।’

सभापतिहरुले केन्द्रबाट थपिएका क्रियाशील सदस्यतालाई मात्रै बढी मान्यता दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । सभापति केसीले भने, ‘तलबाट थपिएका क्रियाशील सदस्यता खारेज गर्ने र केन्द्रबाट थपिएका सदस्यतालाई बढी मान्यता दिइएको छ । यो हामी मान्दैनौँ । यस्तो खाले खेल कांग्रेसमा चल्दैन ।’

क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मा पाएका नेता मिलेन्द्र रिजाल भने काम भइरहेको बताउँछन् । ‘कांग्रेसको क्रियाशील सदस्यता सबैभन्दा जटिल प्रक्रिया हो,’ नेता रिजालले भने, ‘यसको प्रक्रिया पूरा गर्नको लागि हामी जुटिरहेका छौँ ।’

कांग्रेसले ३७ जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएको छ भने बाँकी जिल्लामा विवादै कायम छ । त्यो चाँडै टुङ्गिने नेता रिजालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *