एमाले सांसदको व्यवहार र ओलीको अभिव्यक्तिले वातावरण बिगार्‍यो : सभामुखको सचिवालय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमालेका सांसदहरु र प्रमुख विपक्षी दलका नेताको अभिव्यक्ति र व्यवहारप्रति आपत्ति जनाएको छ ।

एमालेले कारबाहीको सिफारिस गरेको १४ सांसदलाई कारबाही गर्न दबाब दिन भन्दै सभामुख सापकोटालाई भेट्न पुगेका एमालेका सांसदहरुको अभिव्यक्ति, प्रस्तुति र व्यहार तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सञ्चारमाध्यममा दिएको अभिव्यक्ति अमर्यादित र अशोभनीय रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानलेले बताए । ‘हिजो सभामुखज्यूलाई भेट्न आउनुभएका माननीयज्यूहरुको अभिव्यक्ति, प्रस्तुति र व्यवहार अशोभनीय भयो,’ न्यौपानेले भने, ‘पछि सार्वजनिक सञ्चारमाध्यममा प्रमुख विपक्षी दलका नेताले दिएको अभिव्यक्तिसमेत हेर्दा त्यसले वातावरण बिगारेको महसुस गरिएको छ ।’

नेकपा एमालेले दलीय ह्वीप उल्लंघन गरेको भन्दै १४ सांसदलाई कारबाही गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको छ । निवेदन दिएको ३ दिन बित्दा पनि कुनै कारबाही नभएको भन्दै एमाले सांसदहरुले सभामुखलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटपछि सांसदहरुले सभामुख सापकोटाले एमाले विभाजन भएपछि मात्र कारबाहीको कुरालाई अघि बढाउन खोजेकोजस्तो देखिएको भन्दै यसो गरिए एमालेलाई मान्य नहुने चेतावनी दिएका छन् ।

एमाले सांसदहरु यसैबारेमा सभामुखलाई भेटेर ‘दबाब दिन’ शुक्रबार पनि सिंहदरबार गएका थिए । तर, सभामुख कार्यकक्षमा नआएपछि सभामुखले ‘फेस नगरेको’ भन्दै बाहिरिएका थिए ।

सभामुखको सचिवालयले भने शुक्रबार सभामुख पूर्वनिर्धारित अर्को कार्यक्रममा सहभागी भएको र यो कुरालाई पनि ‘सभामुखले फेस नगरेको’ भनेर गलत कुरा गरिएको भन्दै आपत्ति जनाएको छ ।

एमालेले सिफारिस गरेका सांसदलाई तत्काल कारबाही गर्न दबाब दिँदै आएको छ भने सभामुख सापकोटाले छिट्टै यो विषय टुङ्ग्याउने बताएका छन् । एमाले सांसदले यसअघि माओवादीतर्फबाट निर्वाचित सांसदहरुलाई तत्कालै कारबाही गरिएको दृष्टान्त रहेको भन्दै एमालेले गरेको सिफारिस कार्यान्वयन नगर्नु ‘जालसाँजी’ भएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *