नोबेलमा गरियो थाइराइड गाँठको जटिल शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुरले बताए ।

यो जटिल शल्यक्रिया भएकाले नेपालका विरलै मात्र अस्पतालहरुमा यस्तो शल्यक्रिया हुँने डा.ठाकुर बताउँछन् । उनी भन्छन्, ‘यो जटिल सर्जरी हो, मुटुको आर्च अफ एओर्टा रक्तनलीसम्म पुगेको गलगाँठलाई हामीले सफलतापूर्वक सर्जरी गरेर निकालेका छौं । यस्तो सर्जरी नेपालका केही अस्पतालहरुमा मात्र हुन्छ ।’

डा. ठाकुरका अनुसार गलगाँठ निकाल्न ढिलो भएको भए अझै बढेर श्वास नली र खाना नलीलाई थिच्ने भएकाले श्वासप्रश्वास अवरुद्ध भई विरामीको ज्यानै जानसक्ने खतरा थियो । तर, गलगाँठ सफलतापूर्वक निकालिएकाले उनी अहिले खतरामुक्त भएकी छन् ।

जटिल शल्यक्रिया सफल भएपछि विरामी र विरामीका आफन्त हर्षित छन् । विरामी फेकनीदेवीका छोरा लखन मण्डलले जटिल शल्यक्रिया सफल भएको भन्दै खुशी व्यक्त गरे । ‘जटिल समस्या भएकाले अप्रेशन कस्तो होला भन्ने चिन्ता थियो,’ मण्डलले भने, ‘राम्रो उपचार हुन्छ भन्ने सुनेर नोबेल आएका थियौ । जस्तो सुनेको, त्यस्तै उपचार पायौं, धेरै खुशी लाग्यो ।’ अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको तालमेल रहेको नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *