एकल महिलाले थाले सामूहिक बेसार खेती‚ उद्योग खोल्ने लक्ष्य

धनगढी । एकल महिलाहरूकै शब्दमा भन्नुपर्दा समाजमा एकल महिलालाई हेलाको दृष्टिले हेरिन्छ । त्यसका धेरै कारणहरुमध्ये एक हो आर्थिक अवस्था । आर्थिक रुपमा कमजोर हुँदा एकल महिलालाई जीवन धान्न झन् समस्या हुन्छ । प्रायः एकल महिलाका समस्या समान छन् ।

आफ्ना हकहित र देखिएका समस्या समाधानका लागि एकल महिलाहरू संगठित पनि छन् । वडा, स्थानीय तह, जिल्ला, प्रदेश र संघअन्तर्गत रहेर एकल महिलाहरू संगठित भएका छन् । यसैबीच कैलालीको धनगढी उपमहागनरपालिका- २ का एकल महिलाले आत्मानिर्भर बन्ने नयाँ बाटो खोजेका छन् । महिलाहरूको छलफलबाट आर्थिक रुपमा सबल बन्नका लागि नयाँ योजनाहरू निर्धारण गरियो । जसले एकल महिलालाई आर्थिक रुपमा आत्मनिर्भर र सबल बनाओस् । त्यो योजना हो, सामूहिक बेसार खेती । तर, कसरी गर्ने ? आर्थिक उपार्जनका लागि समस्या फेरि आर्थिककै ।

एकल महिलाहरुले आत्मनिर्भर बन्ने योजना बनाएपनि लगानी कहाँबाट ल्याउने भन्ने समस्या देखियो । त्यसका लागि महिलाहरुले वडामा पहल गरे । बेसार खेतिका लागि अनुदान प्राप्त गर्न सहज थिएन । वडामा एकजना चल्ताफुर्ता वडा सदस्य छन्, रत्ना विष्ट । एकल महिलाहरू उनै वडा सदस्य विष्टमार्फत बेसार खेतीका लागि वडाको सहयोग माग्न अगाडि बढे ।

No description available.

महिलाहरुको प्रयासपछि वडाले बेसार खेतीका लागि एकल महिलालाई बजेट उपलब्ध गराउने निर्णय गर्‍यो । जम्मा दुई विगाहमा बेसार खेती गर्नका लागि वडाले तीन लाख रुपैयाँ दियो । बजेट प्राप्त भएपछि महिलाहरुले सामूहिक रुपमा वडा नम्बर २ मिलनचोक क्षेत्रमा दुई बिगाहमा जग्गा भाडामा लिए । वडा नम्बर २ ले बजेट उपलब्ध गराएकाले सोही क्षेत्रभित्रै जग्गा भाडामा लिनुपर्ने थियो । वडाबाट प्राप्त बजेट र समूहबाट थप ३० प्रतिशत गरी झण्डै चार लाख रुपैयाँको लगानीबाट महिलाहरुले अहिले बेसार खेती सुरु गरिसकेका छन् ।

वडा नम्बर २ का एकल महिलाहरूमध्ये करिब ६० जना महिलाहरू समूहमा आबद्ध भएर बेसार खेतीमा लागेका छन् । उनीहरु बेसार खेती लगाउने काममा आफैँ खटिए । श्रमदान गरे । जो आफ्नै लागि पनि हो । खेती लगाइसकेपछि अब गोडमेललगायत रेखेदेख गर्ने काममा पालो लगाउने तयारी उनीहरूको छ । ‘खेती लगाउने काममा जति जना सहभागी भएपनि यसमा आबद्ध भएर आर्थिक रुपमा केही फाइदा लिन चाहने एकल महिलाहरू अब पालैपालो खेतीको रेखदेखमा सहभागी हुनेछन्,’ एकल महिलाकी अगुवा भगवती हमालले भनिन् ।

बेसार उद्योगसम्मको लक्ष्य
अहिले दुई विगाहमा बेसार खेती सुरु गरेका एकल महिलाको दीर्घकालीन लक्ष्य छ, बेसार उद्योग स्थापना गर्ने‚ जहाँ संघीय सरकारले पनि सहयोग गरोस् र यहाँका सबै एकल महिला तथा तिनका सन्ततीले रोजगारी पाउन् । आर्थिक रुपमा सबल हुनकै लागि सामूहिक रुपमा बेसार खेती गर्ने आँट गरेका एकल महिलाहरुले लक्ष्य भेट्न दुई बिगाह जग्गामा बेसार खेती गरेर भावी लक्ष्य प्राप्तिका लागि तयारी सुरु गरिसकेका छन् ।

अहिले दुई बिगाह जमिनबाट उत्पादित बेसार बजारीकरण गर्ने र सहयोग प्राप्त हुँदै गएर बिस्तारै उद्योग स्थापनाका लागि लाग्ने एकल महिलाका अगुवा वेद अवस्थीले बताइन् । ‘अहिले हामीले थालनी गरेको काम जीविकोपाजर्नका लागि हो,’ उनले भनिन्, ‘भविष्यमा यसलाई बेसार उद्योगकै रुपमा स्थापना गर्ने हाम्रो भावी योजना हो । त्यसका लागि हामी सबै एकल महिला सक्रिय भएर लागिरहेका छौं ।’ अहिले बेसार खेतीका लागि भनेर उनीहरुले ‘रामजानकी एकल महिला समूह’ र ‘सरस्वती एकल महिला समूह’ भनेर दुईवटा समूह दर्ता गरेका छन् । काम संयुक्त भएपनि प्रशासनिक कार्य गर्दा सहज होस् भनेर महिलाहरूले दुईवटा समूह दर्ता गरेका छन् ।

No description available.

‘हाम्रो भावी योजना भनेको वैधानिक रुपमा बेसार उद्योग दर्ता गरेरै अगाडि बढ्ने हो,’ एकल महिला अगुवा हमालले भनिन्, ‘जहाँ एकल महिला, उनका सन्तान वा एकल महिलामाथि निर्भर परिवारका सदस्यहरुले काम गर्ने अवसर पाऊन् ।’ उद्योग कसरी सञ्चालन गर्ने र कसलाई कसरी काम लगाउने भन्ने समूहको विधानले तय गर्ने उनले बताइन् ।

एकल महिलाहरुले बेसार खेतीको प्रस्ताव ल्याएपछि सहयोगका लागि बजेट दिन आफूले पनि सक्दो पहल गरेको वडा नम्बर २ का वडा सदस्य रत्ना विष्टले बताइन् । उनले महिलाले थालनी गरेको प्रयास सह्रानीय र प्ररणादायी काम भएको बताइन् । बेसार खेतीलाई भविष्यमा उद्योगको रुपमा विस्तार गर्ने एकल महिलाको योजनालाई सबैको साथ आवश्यक रहेको उनको भनाइ छ ।

वडा नम्बर २ का अध्यक्ष नरबहादुर बमले एकल महिलाहरुले ल्याएको आर्थिक उपार्जनको राम्रो योजनालाई कार्यान्वयन गर्नका लागि वडाले बजेट छुट्याएको बताए । बेसार खेतीले एकल महिलाहरुको आर्थिक स्थिति सुधारमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

One thought on “एकल महिलाले थाले सामूहिक बेसार खेती‚ उद्योग खोल्ने लक्ष्य

Leave a Reply to Ratna Bist Cancel reply

Your email address will not be published. Required fields are marked *