कोरोना महामारी : पशुपतिनाथ मन्दिर साउनमा पनि नखुल्ने

काठमाडौं । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकाले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको जानकारी दिए । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । विसं २०७६ चैत पहिलो सातादेखि मंसिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

गत पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्यान्नसम्म खुला गरिएको थियो । महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो । वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो । सदस्य सचिव डा. ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउँछन् । कोरानाका कारण पशुपति क्षेत्र सुनसान छ ।

भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ । पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ । कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ ।

कोरानो उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ । विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो । पशुपति क्षेत्रमा विद्युतीय समेत १५ घाट सेवा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *