सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा आवतजावतमा समस्या

सिन्धुपाल्चोक । बाढीले क्षति पुर्याएका सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र पाँच पोखरीका केही ठाउँमा आवतजावत नै बन्द भएको छ । मेलम्चीका चारवटा वडा, तथा हेलम्ब र पाँच पोखरीका धेरेजसो ठाउँमा आवतजावत नै बन्द भएको हो । बाढीले धेरै ठाउँका पुल बगाएको छ भने नदी छेउका बस्ती र खेत बगर बनाएको छ ।

आवतजावत बन्द हुँदा बिरामीलाई अस्पतालसम्म पुर्याउन पनि समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । अझै ठूलो बाढी आए बाँकी रहेका पुलहरु पनि भत्कनसक्ने खतरा रहेको भन्दै स्थानीय बासिन्दाम खाद्यान्न जोहो गर्न लागेका छन् । बाढीले घरजग्गा बगाएका स्थानीय बासिन्दा अहिले विद्यालय र सैनिक ब्यारेकमा बस्दै आएका छन् ।

गत असार १ गते इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान, मेलम्ची बजारलगायत ठाउँका नदी छेउका बस्ती र खेत बगरमा परिणत भएका छन् ।

हेलम्बुमा ५ सय भन्दा बढी विस्थापित भएका छन् भने १ सय २७ घरमा पूर्ण क्षति भएको छ । ५ महिना अघि मात्र उद्घाटन भएकोे तीन तले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ भने इस्ट पोइन्ट एकेडेमीको भवन पनि बगेको छ ।

बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० घर विस्थापित भइ विकासका धेरै पूर्वाधार नष्ट हुँदा र अरबौंको क्षति भएको नगरपालिकाले जनाएको छ । बाढीले पाँचवटा पक्कि पुल भत्काउनुका साथै १० वटा झोलुङ्गे पुल बगाएको छ । तत्काल निर्माण गर्नुपर्ने त्यस्ता पुलमा अरबौं रुपैयाँ लाग्ने पालिकाहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *